विरुवा गाउँपालिकाले दशैँ तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन गरेको छ l प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा गाउँपालिकाका भित्रका ५४ वटा पसलको अनुगमन गरिएको थियो l वडा नं १ देखि ६ सम्मका ग्रामिण र बजार क्षेत्रमा अनुगमन गरिएको प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिनुभयो l
असोज ७ -९ गतेसम्म ३ दिन भएको बजार अनुगमनका क्रममा ३४ वटा खाद्यान्न पसल, ७ वटा होटल तथा रेष्टुरेन्ट, २ वटा एग्रोभेट, ५ वटा मेडिकल पसल, २ वटा मासु पसल र ४ वटा अन्य प्रकृतिका गरी कूल ५४ वटा पसलहरू अनुगमन गरिएको अनुगमन गरिएको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो l अनुगमनका क्रममा १ हप्ता देखि ३ वर्षसम्मका म्याद गुज्रेका सामाग्री भेटिएको थियो l

अनुगमनका क्रममा पेयपदार्थ, खाद्यान्न, मिठाइजन्य सामाग्री म्याद गुज्रिएको भेटिएको र बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी समस्या देखिएको गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले जानकारी दिनुभयो l दर्ता , नविकरण नभएका पसलहरूलाई २ महिना भित्र नविकरण गर्न, एक्पाइरी जोन व्यवस्थित गर्न, मूल्य सूची र पसलको नाम प्रष्ट हुनेगरी राख्न र म्याद गुज्रेका सामाग्री बिक्रीवितरण नगर्न सचेत गराइएको उहाँले बताउनुभयो l गाउँपालिकाले जफत गरेका १ सय २० लिटर पेयपदार्थ (कोक, फ्यान्टा ), १ सय ४५ प्याकेट कुरकुरे, चिप्स, आँटा लगायतका म्याद गुज्रेका अखाद्य सामाग्रीलाई गाउँपालिका कार्यालय परिसरमै नष्ट गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो l उहाँका अनुसार पालिकाले हरेक वर्ष कम्तिमा ३ पटक बजार अनुगमन गर्दै आएको छ l बाँकी रहेका वडामा पनि आगामी दिनमा अनुगमन गरिने उहाँले बताउनुभयो l उहाँले नागरिकहरूलाई सामान किनमेल गर्दा उत्पादन र उपभोग्य मिति एकिन गरेर मात्र खरिद गर्न समेत आग्रह गर्नुभएको छ l