पूर्व मन्त्री पदमा कुमारी अर्यालले देशलाई जेनजी पुस्ताको माग बमोजिम अगाडि बढाउन संसदको पुनर्गठन गर्नुपर्ने बताउनुभएको छ। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आउँदाको अवस्थामा पुनस्थापित संसद पुनर्गठन गरेर आन्दोलनकारी शक्ति माओवादीलाई पनि स्थान दिइएको उदाहरण दिदै उहाँले अबको उत्तम विकल्प संसद पुनस्थापना र पुनर्गठन भएको धारणा राख्नुभयो। भएको स्याङ्जाको वालिङमा अकला आवाज साप्ताहिकको आयोजनामा जेनजी आन्दोलन,वर्तमान परिवेश,चुनौती र अवसर विषयमा सरोकारवालाहरूबिच भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो।

जेनजी पुस्ताको को माग जायज भएपनि संविधान संशोधन नगरी प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीमा जान नसकिने भएकाले संसद पुनर्गठन गरेर जेनजी पुस्तालाई समेत समावेश गरेर मात्र अगाडि बढेमा देशले स्थिरता र निकास पाउने उहाँको धारणा थियो।
जेनजी आन्दोलनको मागलाई मध्यनजर गरेर भोलिको देशको मार्गचित्र तयार गर्नुपर्ने भएकाले राजनीतिक दलहरूले पनि आफ्ना कमिकमजोरीको आत्मसमीक्षा गर्नुपर्ने र पारदर्शीता, रोजगारी र समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। युवाको काम भत्काउने मात्रै नभै सृजनात्मक तरिकाले राष्ट्रिय हितमा अगाडि बढ्नुपर्ने उहाँको विचार छ। उहाँले युवा पुस्ता र सरोकारवालाहरूलाई सम्बोधन गर्दै अन्तरक्रियामा प्रस्तुत गरिएका विचार उहाँको निजी विचार भएको बताउनुभयो।
गरिमा विकास बैङ्कको अध्यक्ष दिलीप प्रताप खाँणले राजनीतिक दल नसुध्रदाको देशले नराम्रो परिणाम भोग्नुपरेको, अदालतले न्याय दिन नसक्दा अदालत जलेको, सांसदहरूले अर्थहीन तरिकाले ताली पिट्ने काम बाहेक केही नगरेको हुँदा वर्तमान संविधानले देश नबन्ने धारणा राख्नुभएको थियो। भागवण्डाको राजनीति र जनताको करको दुरुपयोग बढ्दै गएकाले देश अप्ठ्यारोमा परेको भन्दै भ्रष्टचारीले जेल भरिए मात्रै देश बन्ने धारणा राख्नुभएको थियो।
प्याब्सनका केन्द्रीय सदस्य होमकान्त गौतमले सामाजिक सञ्जालको आधारमा धारणा बनाउन र निर्देशित हुनु नहुने बताउँदै सही र तथ्यपूरक सूचनामा भर पर्नुपर्ने बताउनुभयो। जेनजी आन्दोलन सफल भएपनि यसलाई उपलब्धिमूलक बनाउन सबै पुस्ता मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो।
पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देलले जेनजीले उठाएको मूलभूत मुद्दा भ्रष्टचार भएको बताउँदै सञ्चार माध्यमले उठाएको कुरा नेतृत्वले नसुन्दा क्षति भएको धारणा राख्नुभयो। नेतृत्व परिवर्तनका साथै व्यवहार र आचरणमा पनि परिवर्तन आवश्यक भएको बताउँदै उहाँले जेनजीको माग बमोजिम अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी विष्णु पौडेल, वालिङ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष विश्वजंग गुरुङ, वालिङ १ का पूर्व वडा अध्यक्ष केदार काफ्ले, उद्योग वाणिज्य संघ वालिङका महासचिव रमेश अर्याल, सरस्वती माध्यमिक विद्यालयमा प्रधानाध्यापक याम बहादुर कुँवर, पूर्णामृत भवानी माविका प्रधानाध्यापक दिपक लम्साल, लक्ष्मी माविका प्रधानाध्यापक सिता गौंडेल गैह्रे, जगदिश गैह्रे, बैकर्स क्लब वालिङका अध्यक्ष प्रेम अर्याल, व्यवसायी भीम लुइँटेल , साहित्कार पारिश्वर न्यौपाने लगायतले जेनजीले उठाएको माग जायज भएको बताउँदै पुराना राजनीतिक दलहरु अब सच्चिनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा वालिङका जेनजी समुह प्रतिनिधि युवा अभिषेक गुरुङ र रोनिश श्रेष्ठले जेनजीको बलिदानले देशमा परिवर्तन आउन सम्भव भएको बताउनुभयो । उहाँहरूले अहिलेको आन्दोलन सरकारप्रति नभई भ्रष्टाचार विरुद्ध भएको भन्दै वालिङमा देशका अन्य स्थानमा भन्दा शान्तिपुर्ण तरिकाले आन्दोलन गरेको बताउनुभयो ।

अकला आवाज राष्ट्रिय साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक प्रकाश डुम्रेले सहजीकरण गरेको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि र अन्य आमन्त्रित सबैलाई समान व्यवहार गर्दै सबैलाई दर्शकदीर्घामै राखिएको थियो। मिडिया सबैको साझा बनेर नागरिकको आवाजलाई मुखरित गर्नुपर्ने बताउँदै डुम्रेले विकसित परिस्थितीमा मिडियाले सुशासन , सामाजिक न्याय र समृद्ध राष्ट्र निमार्णमा सकारात्मक भुमिका खेल्नुपर्ने धारणा राख्नुभएको थियो ।