नेभिगेशन
अर्थ/वाणिज्य

स्याङ्जामा रमाइलो मेला सुरू

स्याङ्जामा रमाइलो सुरू भएको छ।  बयरघरी पिस युथ क्लबको आयोजनामा  भीरकोट नगरपालिकाको वडा नं १ मा अवस्थित भीरकोट  खेलमैदान  रमाइलो मेला सुरू  भएको हो।

बडा दशैं र दीपावलीको पावन अवसरमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता एवं चौंथो बयरघारी रमाइलो मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष रोशन गुरुङले जानकारी दिनुभयो। असोज २३ गते बिहिवारदेखि भीरकोट खेलमैदानमा सुरू भएको  रमाइलो मेलाको उद्घाटन गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले गर्नुभएको हो।

1000038477-1760014033.jpg
मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले देश युवाको चाहना र माग बमोजिम अगाडि बढ्न खोजेको बताउदै युवालाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो। उहाँले युवाहरूलाई कानुनी शासन र संविधानको पक्षमा उभिन र समाजमा शान्ति सुरक्षा कायम गर्न सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभएको थियो। उहाँले युवाहरूलाई मेला र खेलकुद प्रचलित नियमकानुनको अधिनमा रहेर संचालन गर्न र आर्थिक कारोबारको विवरण समयमै पारदर्शी तरिकाले सार्वजनिक गर्न सुझाव दिनुभएको थियो। श्रेष्ठले  उद्योग वाणिज्य संघलाई समेत मेलामा सहभागी हुन र स्टल राख्न अनुरोध गर्नुभएको थियो।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले  भीरकोट उद्योग वाणिज्य संघलाई  समेत मेला संचालन गर्न क्लबसँग सहकार्य गर्न अनुरोध गर्नुभयो। भीरकोटको विकास र समृद्धिको लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो।

१ सय १५ व्यापारिक स्टल रहने मेलामा १० वटा स्टल कृषि उपजको लागि निःशुल्क उपलब्ध गराइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो। २० लाख सम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको मेला ११ दिनसम्म सञ्चालन हुनेछ। 

मेलामा पालिकास्तरीय पुरूष भलिबल प्रतियोगिता पनि हुनेछ। २५ गतेदेखी संचालन हुने भलिबल प्रतियोगितामा  जिल्लाभित्र र बाहिरका टीम समेत सहभागी हुनेछ्न्। प्रतियोगितामा  प्रथम पुरस्कार १ लाख १५ हजार, द्वितीय पुरस्कार ७० हजार , तृतीय पुरस्कार ४० हजार र सान्त्वना पुरस्कार ३० हजार रुपैयाँ रहेको खेल संयोजक सुरज खाँण ठकुरीले जानकारी दिनुभयो। 

मेलामा भलिबल प्रतियोगिताका साथै विद्यालय स्तरीय नृत्य र रत्यौली प्रतियोगिता पनि सञ्चालन हुनेछ। मेलालाई थप रमाइलो बनाउन स्थानीय र राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुती समेत रहने संस्थाका सचिव रेश्मा गुरुङले जानकारी दिनुभयो।

1000038478-1760014145.jpg
मेलाको समुद्घाटन समारोहमा नेकपा माओवादीका मीन प्रसाद कोइराला, नेकपा एमालेका विश्वनाथ अर्याल, निवर्तमान नगर प्रमुख छायाराम खनालले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। 

भीरकोट उद्योग वाणिज्य संघले क्लबलाई र भीरकोट नगरपालिकालाई व्यापारिक स्टल नराख्न र खेलकुद प्रतियोगिता मात्रै संचालन गर्न आग्रह गर्न आग्रह गर्दै नगरपालिका ,जिल्ला प्रशासन कार्यालय र  जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको   थियो। तर वाणिज्य संघको आग्रह कसैले नसुनेपछि संघका पदाधिकारी र सदस्यहरू उद्घाटन समारोहमा सहभागी भएनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्