साहसिक पर्यटनको केन्द्र स्वरेक मैदान स्याङ्जाको मात्र नभै गण्डकी प्रदेशकै एक प्रमुख पर्यटकीय स्थल हो। प्याराग्लाइडिङ, साइक्लिङ, वनभोज र दृष्यावलोकनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाएको स्वरेक मैदान भीरकोट नगरपालिकाको वडा नं ५ मा समुन्द्र सतहदेखि करिब १६०० मिटर उचाइमा अवस्थित छ। प्याराग्लाइडिङमा पर्यटकीय राजधानी पोखराको विकल्पको रुपमा समेत चिनिने स्वरेक मैदानमा २०७५ सालमा प्याराग्लाइडिङ विश्वकप समेत भएको थियो। यो स्थानमा दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कूल पनि स्थापित छ।
यहाँबाट हिमश्रृङ्खला, पहाडी भुभाग, आँधिखोला र वरिपरिका सुन्दर दृश्यावलोकन स्थलहरु निकै सुन्दर देखिन्छन्। बयरघारी बजारबाट करिब ९ किलोमिटर सडक यात्रापछि पुगिने यो ठाउँलाई स्वर्गको टुक्रा समेत भन्ने गरिन्छ।
यति चर्चित र सम्भावना युक्त ठाउँमा संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा पर्यटकीय क्षेत्रको तारबार, पदमार्ग, साइक्लिङ ट्रयाक, शौचालय, वनभोज स्थल र पर्यटक सूचना केन्द्र पनि निर्माण भएको छ। प्याराग्लाइडिङका लागि मात्रै नभएर अन्य उद्देश्यले स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ आउँछन्। यस्तो महत्वपूर्ण पर्यटकीय स्थलबाट भीरकोट नगरपालिकाले वार्षिक करोडौं राजस्व उठाउँछ भन्ने तपाईँलाई लाग्न सक्छ तर यथार्थ भने तपाईँको कल्पना भन्दा बाहिर छ। अर्थात् यहाँ बाट नगरपालिकाले १ रुपैयाँ पनि आन्तरिक राजस्व उठाउन सकेको छैन्।
वडा नं ५ का पूर्व वडा अध्यक्ष एवं नेपाली काँग्रेस भीरकोटका सभापती याम प्रसाद अधिकारीले स्थानीय सरकारले उचित महत्व नदिदा राजस्व संकलन हुन र भएका भौतिक संरचनाको सदुपयोग र संरक्षण हुन नसकेको बताउनुभयो। वडा नं ५ कै वडा सदस्य शेषकान्त तिवारीले वडाको बजेट सिमित हुने तर पर्यटक आकर्षण अत्यावश्यक पूर्वाधार निर्माणमा पालिकाले बजेट नै नछुट्याउने गरेकाले समस्या भएको बताउनुभयो। स्थानीय सरकारले उचित चासो नदिदा स्वरेक मैदान अलपत्र परेको उहाँको भनाई छ।
हरेक वर्षको आर्थिक ऐनमा भीरकोट पार्क, स्वरेक मैदान, गडहरे गुफा र सुन्दरचौर जस्ता महत्वपूर्ण पर्यकीय स्थलबाट लाखौं रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिन्छ। तर कमजोर प्रशासन तथा राजनीतिक इच्छशक्तिका कारण केही सीमित ठाउँबाट बाहेक राजस्व उठ्न सकेको छैन।
आर्थिक वर्ष २०८१/८२ मा भीरकोट नगरपालिकाले सुन्दर चौर पार्कबाट जम्मा ५४ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको छ। यसैगरी भीरकोट पार्कबाट १६ लाख २० हजार ४ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ। यसमा प्रवेश शुल्क र बनभोजबाट ३ लाख १७ हजार ६ सय ७५ रुपैयाँ , कवाडी बिक्रीबाट ५ लाख ६६ हजार ८ सय ८० रुपैयाँ र सरसफाई शुल्क बापत् ७ लाख ८ हजार ३ सय ३० रुपैयाँ र अन्य स्रोतबाट २७ हजार ५ सय ३० गरी जम्मा १६ लाख २० हजार ४ सय १५ रुपैयाँ संकलन भएको हो।सबै स्थानबाट अपेक्षित रुपमा राजस्व उठाउन नसक्दा गत आव मा भीरकोट नगरपालिकाले आन्तरिक राजस्वको लक्ष्य भेट्टाउन सकेन। २ करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको नगरपालिकाले लक्ष्यको ६२.३७ प्रतिशत मात्रै उठाउन सफल भएको आर्थिक प्रशासन शाखाले जानकारी दिएको छ।