चौथो बयरघारी रमाइलो मेला एवं नगर स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। बयरघारी पिस युथ क्लबको आयोजनामा असोज २३ गतेदेखि कात्तिक २ गतेसम्म भीरकोट खेलमैदानमा संचालन भएको मेला करिब २० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको क्लबका अध्यक्ष रोशन गुरूङले जानकारी दिनुभयो।
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले असोज २३ गते उद्घाटन गरेको मेला कार्तिक २गते नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले समापन गर्नुभएको हो। समापन समारोहमा बोल्दै उहाँले शान्तिपूर्ण तरिकाले मेला समापन भएकोमा खुशी व्यक्त गर्दै भीरकोटको विकास र समृद्धिको लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो।

समापन समारोहमा भलिबल प्रतियोगिताका विजेता खेलाडीहरू, मेला सफल पार्न सहयोग गर्ने विद्यालय, आमा समूह, संचारकर्मी, कलाकार, सुरक्षाकर्मी र सामाजिक व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। भलिबल प्रतियोगिताको उपाधी पुतलीबजार नगरपालिकाले हात पार्न सफल भयो भने आयोजक भीरकोट नगरपालिकाले द्वितीय स्थान प्राप्त गर्यो। वालिङले तृतीय स्थान प्राप्त गर्यो भने विरूवाले शान्त्वना स्थान प्राप्त गरेको थियो।
समापन समारोहमा क्लका सल्लाहकार रमजान मिया, नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी, रास्वपा भीरकोटका सभापति मीन बहादुर के.सी., स्याङ्जा सहयोग समाज भीरकोट इकाइ कतारका अध्यक्ष लिल बहादुर रोकाहा, नगर प्रवक्ता दिपेन्द्र के.सी. आफ्नो मन्तव्य राख्नुभएको थियो।
१० दिनसम्म चलेको मेलामा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरू पवन रोका, नेत्र खड्का, राजेश भण्डारी, कुमार पुन,मुना अर्याल,नविना सुवेदी, कृष्ण मल्ल, जेम्सी, पोखरेली ब्याण्ड लगायतले साङ्गितिक प्रस्तुती दिएका थिए।

भीरकोट उद्योग वाणिज्य संघले व्यापारिक स्टल सहितको रमाइलो मेला संचालन गर्न नदिन विभिन्न प्रयासहरू गर्दा उद्घाटन समारोह र मेला सुरूवातका दिनमा दर्शकहरूको उपस्थिति कमजोर देखिएको थियो। तर विदाका दिनहरू र पछिल्ला दिनहरूमा मेलामा दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो। मेला उद्योग वाणिज्य पक्षधरले अघोषित रूपमा बहिष्कार गरेका थिए।
मेला समापन गर्दै क्लबका अध्यक्ष रोशन गुरूङले मेला सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिनुभएको थियो। उद्योग वाणिज्य संघ तर्फ इङ्कित गर्दै उहाँले मेला असफल बनाउन प्रयास गर्ने समुहलाई भीरकोटमा कुनै मेला महोत्सव गर्न नदिने धम्की समेत दिनुभएको छ।