वालिङ नगरपालिकाले “हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन वृद्धि—हाम्रो चाहना” भन्ने नारासहित वालिङ सडक खाना महोत्सव–२०८२ संचालन गर्ने भएको छ। नगरपालिकाले स्वाद, संस्कृति र आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सडक खाना महोत्सव गर्न लागेको नगर प्रमुख कृष्ण खाँडले जानकारी दिनुभयो।
आँधिखोलाको किनारमा मंसिर १७ देखि १९ गतेसम्म संचालन हुने सडक खाना महोत्सवको तयारी पूरा भएको नगर प्रवक्ता पदम गुरूङले जानकारी दिनुभयो।
नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवका सबै तयारी पूरा भएको जनाएको छ । महोत्सवले स्थानीय स्वाद, संस्कृति र पर्यटनलाई नयाँ उचाइमा पुर्याउन टेवा मिल्नुका साथै वालिङको स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्ने जनाइएको छ ।महोत्सव वालिङ खेलमैदान देखि सुर्कौदी पूलको बिचमा पर्ने आँधिखोला करिडोरमा हुनेछ। सडक महोत्सव संचालनका लागि आँधिखोला करिडोरको सरसफाइ समेत गरिएको छ।
महोत्सवमा वालिङमा बसोबास गर्ने १६ जातजातिका मौलिक परिकार उपलब्ध हुनेछन् ।गुरुङ्, मगर, थकाली, नेवार, कुमालसहित स्थानीय जनजातिका परम्परागत खानाका स्वाद, विधि र सांस्कृतिक अर्थ प्रस्तुत गरिने नगरपालिकाले जनाएको छ । यसअघि विखण्डित रूपमा रहेका यी परिकारलाई समग्र रूपमा देखाउन मिल्ने भएकाले सांस्कृतिक पहिचान मजबुत हुने अपेक्षा समेत गरिएको छ ।खाना महोत्सवमा १६ जातीय समुदायका नृत्य, भेषभूषा र परम्परागत रीतिरिवाज तथा जीवनशैली प्रस्तुत गरिनेछ ।
आँधीखोला सभ्यताको ऐतिहासिक पक्ष, स्थानीय संस्कृतिको विविधता र समग्र नगरको पहिचानलाई समेटेर तयार गरिएका प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुनेछन् ।
महोत्सवका लागि नगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ । महोत्सवमा २५ स्टल रहनेछन् । कृषि स्टल निःशुल्क हुनेछन् भने अन्य स्टलले प्रतिदिन एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । स्थानीय खानाको संरक्षण, सांस्कृतिक विविधताको प्रवर्द्धन र नगर ब्रान्डिङका लागि पहिलो पटक आयोजना हुन लागेको वालिङ सडक खाना महोत्सवले रैथाने संस्कृति, स्वाद र आन्तरिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
महोत्सवले स्थानीय चुलो–चौकाको स्वाद, पुरानो परिकार प्रवर्धन, र आधुनिक परिकारको व्यापार , खाना संस्कृतिको संरक्षण, पुनर्जीवन र बजारीकरणमा सहयोग पुर्याउने विश्वास गरिएको छ । नगरपालिकाले “मौलिक खानालाई आधुनिक बजारसम्म” पुर्याउने अभियानलाई यस महोत्सवबाट थप गति दिने योजना रहेको जनाएको छ ।
स्थानीय किसानका फलफूल, तरकारी, मौसमी बाली, बीउ–बिजन तथा नवीन कृषि प्रविधिको प्रदर्शन गरिनेछ । उत्पादनमा आत्मनिर्भरता र स्थानीय बजार सक्रिय बनाउन यसले सहयोग पुर्याउने विश्वास नगरपालिकाले लिएको छ ।