चापाकोट नगरपालिका १ का वडा सदस्य सन्तोष थापाले आफू नेपाली कांग्रेसमा प्रवेश गरेको समाचार झुट्टा भएको बताउनुभएको छ । संचारकर्मीसँग कुरा गर्दै उहाँले माघ १८ गते आफू कांग्रेस प्रवेश गरेको भन्ने समाचार भ्रामक रहेको दाबी गर्नुभएको छ।
थापाले भन्नुभयो , ‘हिजो कांग्रेसको घरदैलो कार्यक्रममा त गएका थिएँ । तर औपचारिक रूपमा पार्टी प्रवेश गरेको होइन ।’ नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्लसँग पारिवारिक एवं साथीभाइको सम्बन्ध भएकाले आफूले घरदैलोमा सहयोग गरेको थापाको भनाई छ।
आफू वडाको जनप्रतिनिधि भएकाले वडामा आउने जुनसुकै पार्टीलाई सहयोग गर्ने जिम्मेवारी आफ्नो भएको तर कांग्रेसको क्रियाशील सदस्यता नलिएको प्रष्ट पार्नुभयो।
‘केही साथीभाइहरू जानुभएको थियो। म चाहिँ गएको थिइनँ,’ थापाले भन्नुभयो, ‘पार्टी प्रवेशको हल्ला साँझ करिब ५ बजे मात्र सामाजिक संजालबाट थाहा पाएँ । सुन्दा र हेर्दा अचम्म लाग्यो ।’
संचारकर्मीले प्रतिप्रश्न गर्दा थापाले आफूले लगाएको माला र टीका पार्टी प्रवेशका कारण नभई उम्मेदवार मल्लले घरदैलोमा सहयोग गरेबापत नै लगाइदिएको दाबी गर्नुभयो।
तर जिल्ला भित्र र बाहिरका मल्ल निकट संचारमाध्यम र उहाँको सचिवालयले समेत एमालेबाट निर्वाचित वडा सदस्य सन्तोष थापा नेपाली काँग्रेस प्रवेश गरेको खबर सम्प्रेषण गरेका छन्।