स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविरबाट १ हजार सेवाग्राही लाभान्वित भएका छन्। अर्जुनचौपारी गाउँपालिकाका ६ वटै वडामा फरक दिन र फरक स्थानमा आयोजना गरिएको उक्त शिविरमा १ हजार ६ जना महिलाहरुको प्रजनन स्वास्थ्य निशुल्क स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र नेपालीले जानकारी दिनुभयो।
“सुरक्षित नारी, समुन्नत अर्जुनचौपारी : समयमै जाँच र उपचार हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका संचालन गरिएको शिविरमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याको जाँच गरिएको थियो। अर्जुनचौपारी गाउँपालिकाले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँपालिकाका सबै वडामा माघ १२ गतेदेखि माघ १८ गतेसम्म प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्क्रिनिङ तथा उपचार सेवा सञ्चालन गरेको थियो। गाउँघरमै जाँच र उपचारको सेवा पाएपछि लाभान्वित सेवाग्राहीहरू खुशी भएका छन्।
महिलाहरूको प्रजनन स्वास्थ्यमा सुधार ल्याउन, प्रजनन स्वास्थ्य सम्बन्धि चेतना प्रदान गर्न र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले प्रजनन स्वास्थ्य शिविरलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो।
शिविरमा स्वास्थ्य परीक्षणका क्रममा पाठेघरको मुखको संकास्पद क्यान्सर लक्षण देखिएका ९ जनालाई थप सहायताको निम्ति रिफर गरिएको थियो भने ३५ जनाको आङ खस्ने समस्या व्यवस्थापन गर्न रिङ पेसरी राखिएको थियो। यस्तै, गरी स्तनमा समस्या देखिएका ३५ जना र पाठेघरमा मासु पलाएका ३२ जनालाई समेत थप उपचारका लागि रिफर गरिएको थियो।