नेभिगेशन
राजनीति
चुनाव २०८२

स्याङ्जाको विकासका लागि कांग्रेसको  संकल्प: पूर्वाधारदेखि कृषि क्रान्तिसम्म

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि स्याङ्जा जिल्लाको चौतर्फी विकासलाई केन्द्रमा राख्दै आफ्नो संकल्पपत्र सार्वजनिक गरेको छ। उम्मेदवारहरू भरतराज ढकाल र प्रकाश मल्लले स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोटका साथ शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रका महत्वाकांक्षी योजनाहरू अघि सार्नुभएको छ।संकल्पपत्रमा विशेषगरी युवा पुस्ता (Gen-Z) का भावनालाई सम्बोधन गर्दै सुशासन र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिने प्रतिबद्धता व्यक्त गरिएको छ।

स्याङ्जाको आर्थिक मेरुदण्ड मानिने सिद्धार्थ राजमार्ग (बुटवल-पोखरा सडक) लाई  'डेडिकेटेड टु-लेन' बनाउने कार्यलाई मुख्य प्राथमिकतामा राखिएको छ। यसका साथै आँधिखोला  बहुउद्देश्यीय विद्युत् परियोजनालाई अगाडि बढाउने, सबै ग्रामीण सडकहरूलाई बाह्रै महिना चल्ने गरी कालोपत्रे गर्ने र प्रत्येक वडा केन्द्र जोड्ने,  'एक घर, एक धारा' अन्तर्गत शतप्रतिशत स्वच्छ खानेपानीको सुनिश्चितता गर्ने महत्वकांक्षा राखिएको छ।

किसानका समस्या समाधान गर्न संकल्पपत्रले विशेष योजना अघि सारेको छ। जसमा किसानको बाली संरक्षणका लागि  बाँदरको वैज्ञानिक स्थानान्तरण र क्षतिपूर्तिको व्यवस्था गर्ने, कृषि पेसा अँगालेका कृषकका सन्तानलाई विशेष छात्रवृत्तिको व्यवस्था, बाँझो जमिन उपयोगमा ल्याउन 'साझेदारी कृषि प्रणाली' लागू गरी क्षेत्र नं. २ लाई आत्मनिर्भर कृषि हब बनाउने लक्ष्य राखिएको छ।

 स्थानीय पाठ्यक्रममा नैतिक शिक्षा अनिवार्य गर्ने र प्राविधिक शिक्षालयहरूको स्तरउन्नति गर्ने, कालीगण्डकी तटलाई 'सनातन सभ्यता र संस्कारयुक्त शिक्षाको स्रोत केन्द्र' (Hub) का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

संकल्पपत्रमा स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिएको छ। हरेक वडामा विशेषज्ञ सहितको प्राथमिक स्वास्थ्य क्लिनिक स्थापना गर्ने। अनिवार्य स्वास्थ्य बीमा योजनालाई प्रभावकारी रूपमा लागू गर्ने महत्वकांक्षा राखिएको छ।

'स्वरेकको उडान, स्याङ्जाको पहिचान' भन्ने नारासहित विश्व प्रसिद्ध प्याराग्लाइडिङ  गन्तव्य स्वरेक मैदानलाई 'अन्तर्राष्ट्रिय प्यारा-प्रशिक्षण केन्द्र' (Para-Academy) का रूपमा विकास गर्ने संकल्प गरिएको छ। नुवाकोट, डहरे देउराली, र सतौँ चण्डीथान जस्ता ऐतिहासिक क्षेत्रलाई पर्यटकीय सर्किटमा जोड्ने र 'होम स्टे' प्रवर्द्धन गर्ने योजना छ।

'समृद्ध नेपाल'को परिकल्पना साकार पार्न स्याङ्जाका सबै मतदाताको स्वामित्व हुने गरी एक 'वृहत् पब्लिक कम्पनी' स्थापना गर्ने र सो मार्फत जिल्लाका मुख्य कृषि तथा पर्यटन परियोजना सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यसले युवाहरूलाई आफ्नै माटोमा दक्ष प्राविधिक र उद्यमी बन्न प्रेरित गर्ने लक्ष्य राखेको छ।

कांग्रेस उम्मेदवारहरूले बीपी कोइरालाको आर्थिक नीति र वर्तमान समयको आवश्यकताबीच सन्तुलन कायम गर्दै स्याङ्जाली जनताको जीवनस्तर उकास्ने दृढ संकल्प व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्