भीरकोट नगर अस्पतालमा शनिबार संचालन एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५ सय सेवाग्राही लाभान्वित भएका छन्। भीरकोट नगरपालिका र मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको संयुक्त आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ३ सय ४२ महिला र १ सय ५३ पुरूष गरी जम्मा ४ सय ९५ सेवाग्राही लाभान्वित भएको नगर अस्पतालका डा. राजिव झाले जानकारी दिनुभयो।
स्वास्थ्य शिविरबाट अर्जुनचौपारी, भीरकोट र पुतलीबजारका नागरिकहरू लाभान्वित भएका हुन्। स्वास्थ्य शिविर चैत ७ गते शनिबार बिहान ९ .३० बजेदेखि दिउँसो ४.३० बजेसम्म संचालन भएको थियो।शनिबार बिहानैदेखि वर्षा भएपनि स्वास्थ्य शिविरमा सेवाग्राहीहरूको उत्साहजनक उपस्थिति रहेको मनोमहन मेमोरियल अस्पतालका डा. मनोर दिन सैयदले बताउनुभयो ।
भीरकोट नगर शिविरमा विशेषज्ञ चिकित्सकहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।शिविरमा स्त्री तथा प्रसूति, जनरल मेडिसिन र हाडजोर्नी तथा नशासम्बन्धी रोग , नाक ,कान घाँटी रोगको परीक्षण गरिएको थियो। स्त्री तथा प्रसूति रोगका लागि डा. मनोर दिन सैयद, जनरल मेडिसिनतर्फ डा. इवराज सिम्खडा र डा. सुस्मित श्रेष्ठ , हाड–जोर्नी तथा नशासम्बन्धी रोगको उपचारका लागि डा. उज्जन शाक्यले बिरामीहरूलाई सेवा प्रदान गरेको मनमोहन मेमोरियल अस्पतालका डा. मनोर दिन सैयदले जानकारी दिनुभयो।
यसका साथै अन्य वरिष्ठ चिकित्सकहरू पनि शिविरमा सेवा दिएका थिए। नाक, कान र घाँटीसम्बन्धी रोगको उपचारका लागि डा. कृष्ण कोइराला, मानसिक तथा स्नायुसम्बन्धी रोगका लागि डा. राजन शर्मा, हाडजोर्नी तथा नशासम्बन्धी रोगका लागि डा. दिनेश कुमार विकले पनि सेवा प्रदान गर्नुभएको थियो।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले शिविरबाट स्थानीय नागरिकहरूलाई पोखरा काठमाडौंका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने अवसर प्राप्त भएको बताउनुभयो।स्वास्थ्य शिविरका लागि पहल गर्ने डा. सैयद र सेवा प्रदान गर्ने विशेषज्ञ डाक्टरहरूलाई धन्यवाद व्यक्त गर्दै उनले नगरपालिकाले आगामी वर्ष पनि स्वास्थ्य शिविर संचालन गरिने जानकारी दिनुभयो। ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको नगर प्रमुख कर्माचार्यले बताउनुभयो।
शिविरमा स्वास्थ्य सेवा लिन गएकि प्रतीक्षा अर्यालले ३० मिनेट भित्र नै विशेषज्ञ स्वास्थ्य सेवा र निशुल्क औषधि पाएको बताउनुभयो। उनले स्थानीय स्तरमा हुने यस्ता सेवा नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो।