नेभिगेशन
स्वास्थ्य

वालिङमा क्षयरोगीको संख्या सबैभन्दा धरै

स्याङ्जाको  वालिङ नगरपालिकामा क्षयरोगीको संख्या अन्य पालिकाको तुलनामा सबैभन्दा धेरै देखिएको छ। यहाँ  ५० जना क्षयरोगका बिरामी रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ। यस्तै, सबैभन्दा कम फेदीखोला गाउँपालिकामा २ जना क्षयरोगका बिरामी रहेका छन् ।  गल्याङ नगरपालिकामा २९, कालीगण्डकी गाउँपालिकामा र चापाकोट नगरपालिकामा १४/१४ जना, भीरकोट नगरपालिकामा १३ जना, पुतलीबजार नगरपालिकामा ११ जना, बिरुवा गाउँपालिकामा १० जना, हरिनास ८ जना, अर्जुनचौपारी गाउँपालिकामा ५ जना, आँधीखोला गाउँपालिकामा चार जना क्षयरोगको बिरामी रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका  प्रमुख राम बहादुर नेपालीले जानकारी दिनुभयो।

आर्थिक वर्ष २०८२ / ८३ को अहिले सम्म जिल्लामा  क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ ।  बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ नगरपालिकामा क्षयरोगले एक–एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले क्षयरोग निवारण दिवसको अवसरमा जानकारी दिएको हो । जिल्लामा अहिले १६० जना क्षयरोगका बिरामीले औषधी सेवन गरिरहेको कार्यालय प्रमुख राम बहादुर नेपालीले जानकारी दिनुभयो ।

दिगो विकासको लक्ष्य हासिल गर्न सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त देश बनाउने उदेश्यका साथ हरेक पालिकामा स्वास्थ्य परीक्षण, स्वास्थ्य केन्द्रमार्फत क्षयरोगको निशुल्क औषधी वितरण, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स विधिबाट उपचार सहितका कार्यक्रम सञ्चालन भइरहेको नेपालीले बताउनुभयो । अहिले ४० प्रतिशत क्षयरोगका बिरामी उपचार भन्दा बाहिर रहेको बताउदै नेपालीले सबै सहयोगले मात्र नेपाल सरकारको क्षयरोग मुक्त देश बनाउने लक्ष्यले सार्थकता पाउने बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्