राष्ट्रिय सहकारी दिवसको अवसरमा भीरकोटमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।६९ औं राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसरमा “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित भीरकोट सहकारी संघको आयोजनामा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम भएको हो।
प्रभातफेरी कार्यक्रम भीरकोट नगरपालिकाको परिसरबाट सुरु भै बयरघारी बजार हुँदै आँधिखोला सिटी हलमा पुगेर समापन गरिएको थियो। सिटी हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहकारी क्षेत्रका महत्त्वपूर्ण विषयमा छलफल हुनुका साथै सहभागीहरूले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रचलित नियम कानुनको परिधिभित्र रहेर शेयर सदस्यको मन जित्नेगरी काम गर्न सहकारीकर्मीहरूलाई आग्रह गर्नुभएको थियो। सहकारीका गतिविधि पारदर्शी र सदस्यमैत्री हुनुपर्ने उहाँले बताउनुभयो।
भीरकोट सहकारी संघका अध्यक्ष तोयनाथ अर्यालले सहकारी र स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सहकारीलाई व्यवस्थित र पारदर्शी बनाउन सरोकारवाला सबैको सहकार्य र खबरदारी आवश्यक रहेको उहाँको भनाई छ। उहाँले भीरकोट नगरपालिका सुन्तला, कागती र तरकारीको पकेट क्षेत्र भएकाले यसको भण्डारण बजारीकरण र प्रशोधनमा समेत नगरपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो।
सहकारी अभियान्ता एवं निवर्तमान नगर प्रमुख छायाराम खनालले भीरकोटमा रहेका करिब ५० वटा सहकारीमा २ अर्ब भन्दा बढी रकम जम्मा भएको बताउँदै अब सहकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्ने खालका लगानीका नयाँ क्षेत्र खोज्नुपर्ने धारणा राख्नुभयो। स्थानीय स्रोत साधनको सदुपयोग र रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको भनाई छ।
कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका सचिव मीन प्रसाद कोइरालाले खाताप्रणाली व्यवस्थित र पारदर्शी बनाउन, डिजिटल सेवा प्रवाह र मोबाइल बैङ्किङलाई प्राथमिकता दिन सहकारी संचालक र व्यवस्थापकलाई सुझाव दिनुभयो।
कार्यक्रममा भीरकोटका ९ वटै वडाका अध्यक्षहरू, नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका संचालक र पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।अन्तरक्रिया एवं प्रभातफेरी कार्यक्रमको संयोजन माछापुच्छ्रे बचत तथा ऋण सहकारीका व्यवस्थापक सुन्दर कोइरालाले गर्नुभएको थियो भने सञ्चालन शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक लेख बहादुर के.सी. गर्नुभएको थियो ।कार्यक्रमले सहकारीको भूमिका, पारदर्शिता र उद्यमशीलताको प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।