स्याङ्जाको भीरकोट ७ मा अवस्थित ऐतिहासिक खिलुङ कालिका मन्दिर जोड्ने सडक स्तरोन्नति भएपछि स्थानीय र पर्यटकलाई सहज बनेको छ। सिद्धार्थ राजमार्गको हेलुदेखि खिलुङ गाउँ जोड्ने सडक ट्रयाक खुलेको २१ वर्षपछि कालोपत्रे तथा ढलान भएको हो । वि.सं. २०६२ सालमा ट्रयाक खुलेर पनि लामो समयदेखि कच्ची र जोखिमपूर्ण अवस्थामा रहेको यो सडक खण्डको २ किलोमिटर ढलान भएको छ भने ५ सय मिटर कालोपत्रे भएको छ। जोखिमपूर्ण यात्रा गर्नुपर्ने सडक खण्ड स्तरोन्नति भएपछि स्थानीय बासिन्दा खुशी भएका छन्। स्थानीय जेष्ठ नागरिक चन्द्र बहादुर गुरूङले खुशी व्यक्त गर्दै भने, " ऐतिहासिक मन्दिर जोड्ने सडकको कालोपत्रे र ढलान हुँदा हामी खुशी छौँ । दैनिक आवतजावत गर्न स्थानीयलाई र मन्दिर दर्शन गर्न आउने पर्यटकलाई समेत अब निकै सहज भएको छ।"

सिद्धार्थ राजमार्गको हेलुदेखि खिलुङ गाउँ जोड्ने सडक करिब ७ किमि लामो छ। समुद्री सतहदेखि करिब १६ सय मिटरको उचाइमा अवस्थित मन्दिर र गाउँ जोड्ने यो सडकको २.५ किमि खण्ड सडक स्तरोन्नति कै चरणमा छ। महत्त्वपूर्ण सडक भएपनि ट्रयाक खुलेको दुई दशकसम्म यहाँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। विशेष गरी जोखिमपूर्ण मानिएको ’भीरखण्ड’ क्षेत्रमा कालोपत्रे र ढलान भएपछि स्थानीयहरू खुशी छ्न् । संघीयताको कार्यान्वयनसँगै स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकारको प्राथमिकतामा परेपछि यो सडकले नयाँ स्वरूप पाएको हो ।

करिब १३ करोड रुपैयाँको लागतमा फुर्सामाटा कालिका कन्ट्रक्सन र अर्जुनचौपारी / भुषाल कन्ट्रक्सनले यसको निर्माण कार्य सम्पन्न गरेका हुन्। यो सडक सुधारसँगै केवल भीरकोटको धार्मिक पर्यटनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यस सडकले सुन्तला खेती गरिरहेका स्थानीयलाई पनि निकै सहज हुने वडा अध्यक्ष तारा प्रसाद अर्यालले बताउनुभयो। खिलुङ गाउँमा उत्पादित अर्गानिक उपजले समेत अब सहजै बजार पाउने उहाँले बताउनुभयो।
वडा अध्यक्ष अर्यालले भन्नुभयो, " हेलु खिलुङ यात्रा निकै कष्टकर थियो। १ घण्टामा मुस्किलले पुगिन्थ्यो। सडक स्तरोन्नति भएपछि अब आधि घण्टामै सहज रूपमा पुग्न सकिन्छ।"