अर्जुनचौपारी गाउँपालिकाले नेपालमै पहिलोपटक धार्मिक होमस्टे स्थापनाको तयारी गरेको छ।धार्मिक पर्यटन प्रवर्द्धन गर्ने र उद्देश्यका साथ धार्मिक होमस्टे सञ्चालनको तयारी सुरु गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले यही चैत्र ३ गते सार्वजनिक सूचना जारी गर्दै स्थानीयवासी तथा टोल समूहलाई होमस्टे सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको छ।
गाउँपालिकामा अवस्थित धार्मिक महत्त्व बोकेको नेपालको पहिलो नवग्रह मन्दिर क्षेत्रलाई केन्द्रमा राखेर धार्मिक पर्यटन विकास गर्ने योजना अघि बढाइएको छ। यस कार्यक्रममार्फत मन्दिर दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई स्थानीय संस्कृति, परम्परा र अर्गानिक खानाको अनुभव गराउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले पर्यटन प्रवर्धन र रोजगारी सृजना गर्ने उद्देश्यले धार्मिक होमस्टे संचालन गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार होमस्टे सञ्चालन गर्न इच्छुक व्यक्तिले निश्चित मापदण्ड पूरा गर्नुपर्नेछ। न्यूनतम रूपमा होमस्टे सञ्चालन हुने घरमा कम्तीमा दुईवटा सफा पाहुना कोठा तथा शौचालयको उचित व्यवस्था अनिवार्य गरिएको छ। साथै, स्थानीय स्तरमै उत्पादन भएका अर्गानिक खाद्य सामग्रीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।
नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले नवग्रह आसपास गाउँवस्तीमा धार्मिक होमस्टे संचालन गर्न खोजिएको बताउनुभयो। होमस्टे संचालनका लागि समुदाय तयार भएपछि आवश्यक तालिम र व्यवस्थापनका गाउँपालिकाले नै सहयोग गर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, "होमस्टे संचालन गर्न चाहने समुदायले धार्मिक, परम्परागत , अनुशासित तथा शान्त वातावरण कायम गर्नुपर्ने छ। धार्मिक पर्यटकलाई लक्षित गरी बेलुकाको समयमा भजन, कीर्तन तथा आध्यात्मिक कार्यक्रम समेत सञ्चालन गर्न तयार हुनुपर्छ।"
होमस्टे दर्ता प्रक्रियाका लागि गाउँपालिकाले तोकेको फाराम भर्नुपर्नेछ। आवेदन दिएका व्यक्तिहरूमध्ये छनोट भएका घरधनी वा समूहलाई गाउँपालिकाबाट आवश्यक तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइने जनाइएको छ। यसले स्थानीयलाई सीप विकास तथा आयआर्जनको अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक व्यक्तिहरूलाई कार्यालय वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ। यस कार्यक्रमले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने तथा पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ तीन लाख पर्यटक भित्र्याउने लक्ष राखेको छ। हालसम्म आन्तरिक र भारतीय पर्यटक गरि करिब १ लाख पर्यटकले गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेको गाउँपालिका प्रमुखको सचिवालयले जानकारी दिएको छ।