नेभिगेशन
पर्यटन/विकास

भीरकोट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन

स्याङ्जाको भीरकोट नगरपालिकाको प्रशासकिय भवनको उद्घाटन गरिएको छ । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्दघाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिक सँधै सजग भएर शासकलाई प्रश्न उठाईरहनुपर्ने बताउनुभएको छ । मुख्य मन्त्री पाण्डेले भन्नुभयो, "नागरिकले प्रश्न गरिरहनुपर्छ । नागरिकले आफूले चाहेको शासन सुव्यवस्था भयो कि भएन मुल्यांकन गरेर शासकलाई सँधै प्रश्न गर्नुपर्छ । यसले शासकलाई सच्चिन सहयोग गर्छ ।"

सिमित स्रोत र साधनका बाबजुद नागरिकका असिमित चाहना र आकांक्षा पुरा गर्नुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री पाण्डेले स्याङ्जाको विकासका लागि यहाँका जनप्रतिनिधिहरुको मागको आधारमा प्रदेशले सम्बोधन गरेको बताउनुभयो । वर्तमान सरकारको कार्यकाल सय दिन पनि पुरा नभएको भन्दै अहिल्यै आलोचना गर्न आवश्यक नरहेको बताउँदै उहाँले  "वाच डग" को रुपमा भने रहनुपर्ने बताउनुभयो । 

आँफू सरकारको प्रतिनिधि भएको भन्दै हतारमा प्रश्न गर्ने समय नभएको उहाँले बताउनुभयो । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि संविधान अनुसार कानुन निर्माण गरिएको बताउँदै आदेशका आधारमा नभई कानुनका आधारमा सरकार चल्नुपर्ने उहाँले बताउनुभयो । नयाँको नाममा या आदेशको नाममा कानुन मिच्न नपाईने भन्दै कानुनी राज्यमा कानुन भन्दा माथि कोहि नभएको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, "विरोधका लागी मात्रै विरोध गर्ने होईन् । निगरानी गर्नुपर्छ । नेपालको संविधान छ । लोकतान्त्रिक कानुनी राज्यमा कानुन भन्दा माथि कोहि पनि छैन् । संविधान भन्दा माथि बसेर काम गर्नेको अवस्था के भयो भन्ने कुरा छ ईतिहास नै साक्षी छ ।संघिय, प्रदेश वा स्थानीय सरकार कानुन भन्दा माथि नरहेको भन्दै लहडको भरमा राज्य गर्न खोजेका सरकारको अवस्था कस्तो थियो त्यो ईतिहासमा रहेको उहाँले वर्तमान सरकारलाई स्मरण गराउनुभयो ।

आदेशका भरमा चल्ने प्रशासनिक ईकाई जस्तै प्रदेश र स्थानीय सरकारलाई बेला बेलामा परिपत्र पठाउने गरेको भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो,"संघिय सरकारको आदेशमा चल्ने प्रदेश तथा स्थानीय सरकार होईन् । संघिय संरचना कार्यान्वयन भएको मुलुकमा प्रदेश, स्थानीय तह स्वायत्त छन् । संघिय सरकारसंँग दुवै तहले समन्वय गर्नुपर्छ । तर संघिय सरकारले तलका सरकारलाई आदेश दिने होईन् । समन्वय गर्ने हो ।कतिपय परिपत्रको बारेमा संघिय सरकारको ध्यानार्कषण गराईएको भन्दै स्वायत्त प्रदेश र स्थानीय तह आफ्नो क्षेत्राधिकार भित्र रहेर काम गर्नु पाउनुपर्ने उहाँको भनाई थियो ।

४६७ वटा पुराना योजनाहरु सम्पन्न गर्ने बताउँदै स्रोत सुनिश्चितता अनुसारको काम हुने मुख्यमन्त्रि पाण्डेले बताउनुभयो । ठुलो क्षेत्रफलमा बनेको सुविधा सम्पन्न भवनले दिने सेवा पनि फराकिलो र ठुलो रहोस भन्दै मुख्यमन्त्री पाण्डेले शुभकामना व्यक्त गर्नुभयो ।

 भीरकोट अस्पतालमा डायलाईसिस मेसिन प्रदेश सरकारले उपलब्ध गराउने, बिरामीको धेरै चाप हुने वालिङको अस्पताल स्तरोन्नति गरिने मुख्य मन्त्री पाण्डेले बताउनुभयो । कार्यक्रममा पुर्व सांसद धनराज गुरुङ, संविधान सभा सदस्य राजु थापा, निर्वतमान नगरप्रमुख  छायाराम खनाल, उपप्रमुख भगवती अर्याल रेग्मी, नगरप्रवक्ता तथा वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसी लगायतले बोल्नुभएको थियो ।

 कार्यक्रम नगरप्रमुख गोविन्दकुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण लम्सालले गर्नुभएको थियो । 

७ करोड २१ लाखमा निर्माण सम्पन्न भवन गजेन्द्र निर्माण सेवाले निर्माण गरेको हो । २०७७ पुसमा निर्माण सम्पन्न भएको  भवनबाट सोही वर्ष  माघ देखि सेवा प्रवाह शुरु भएको थियो । भवन संचालन भएको ५ वर्षपछि भवनको औपरिचक रुपमा उद्घाटन भएको हो । कार्यक्रममा भवन निर्माणका लागी जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । भवन समुद्धाटनका अवसरमा भू.पू. सैनिक कम्युनिटी एकेडेमीका विद्यार्थीहरूले नृत्य, स्थानीय एकुवार आमा  समुहले  पञ्छ  बाजा   र जनजागरण आमा समुहले  भजन प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्