नेभिगेशन
पर्यटन/विकास

पुतलीबजारदेखि तनहुँ जोड्ने सडकको कालोपत्रेले गति लियो, स्थानीयमा उत्साह

समयमै सकिनुपर्ने काम एक वर्ष ढिलाइ भएपछि स्याङ्जाको घुम्ती–चिसापानी सडकको कालोपत्रे कार्यले पछिल्लो समय तीव्रता पाएको छ। काउले–सालडाँडा खण्डअन्तर्गत करिब आठ किलोमिटर सडक कालोपत्रे गर्ने काम अहिले सक्रिय रूपमा अघि बढिरहेको छ।

करिब २५ वर्षअघि ट्रयाक खुलेको यस सडकको दोस्रो खण्ड पहिलो पटक कालोपत्रे हुन लागेको हो। २०७९ असार १९ गते सम्झौता गरेर निर्माण कम्पनीले काम थालेको थियो। २७ महिनाभित्र सक्ने गरी टुन्डी आरएस जेभी निर्माण कम्पनीले २१ करोड ५१ लाख ४८ हजार ७०४ रुपैयाँमा ठेक्का लिएको थियो। सम्झौताअनुसार २०८१ असोज २० गतेसम्म काम सक्नुपर्ने भए पनि विविध कारणले ढिलाइ भएको थियो। यद्यपि, चालू आर्थिक वर्ष २०८२/८३ को भदौ महिनादेखि भने कालोपत्रेको कामले गति लिएको छ।

सडक डिभिजन कार्यालयका अनुसार सडक फराकिलो बनाउने, समथर पार्ने, टेवा पर्खाल र नाला निर्माण तथा गिटी बिछ्याउने काम सम्पन्न भइसकेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सम्झौताअनुसार सबै काम सकिने र अब बजेट अभावका कारण कालोपत्रे नरोकिने कार्यालयले स्पष्ट पारेको छ।

२७ किलोमिटर लामो यस सडकको पहिलो खण्ड (घुम्ती–काउले खण्ड) को ५.५ किलोमिटर सडक भने आर्थिक वर्ष २०७७/७८ मा पूर्वाधार विकास कार्यालयले करिब १६ करोड रुपैयाँ खर्चेर कालोपत्रे गरेको थियो। नयाँ ट्रयाक आर्थिक वर्ष २०५७/५८ मै खुले पनि पहिलो खण्ड नै कालोपत्रे हुन करिब २० वर्ष लागेको थियो।

यस सडकले पुतलीबजार नगरपालिका र आसपासका पुरानो बहाकोट, कोल्मा, ओरस्टे, किचनास, मग्याम चिसापानी र चित्रेभन्ज्याङ क्षेत्रका बासिन्दालाई सडक सञ्जालसँग जोडेको छ। सडक निर्माण पूरा भएपछि पुतलीबजार नगरपालिका–१, २, ८ र ९, बिरुवा गाउँपालिका–३, ४ र ५ तथा हरिनास गाउँपालिका–१, २, ३ र ४ सहित तनहुँको पश्चिमी क्षेत्र शुक्लागण्डकी, ढोरफिर्दी र राईपुरका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।

सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रकान्त पोख्रेलका अनुसार नयाँ ट्रयाक खोल्ने बेला स्थानीयबीच केही विवाद र तानातान भएको तथा ट्रयाक खुलेपछि पनि बजेट अभावका कारण समयमै सडक स्तरोन्नति हुन सकेको थिएन। अहिले भने लामो प्रतीक्षापछि सडक कालोपत्रेले गति लिँदा विकासको आशा जागेको पोख्रेलले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै