नेभिगेशन
अर्थ/वाणिज्य

स्याङ्जाका ११ वटै पालिकाको बजेट सार्वजनिक

पुतलीबजारको बजेट सबैभन्दा बढी

स्याङ्जाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका पाँच नगरपालिका र छ गाउँपालिकाले गरी कुल ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।

पाँच नगरपालिकामध्ये सबैभन्दा बढी बजेट पुतलीबजार नगरपालिकाले ल्याएको छ। नगरपालिकाले ९६ करोड ७३ लाख १६ हजार ४०० रुपियाँको बजेट सार्वजनिक गरेको हो। यसमध्ये ६६ करोड २० लाख ४७ हजार ६०० रुपियाँ चालुतर्फ र ३० करोड ५२ लाख ६८ हजार ८०० रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।

वालिङ नगरपालिकाले ८९ करोड १ लाख ५९ हजार ७३६ रुपियाँको बजेट ल्याएको छ। यसमध्ये ६२ करोड ४७ लाख ११ हजार ७३६ रुपियाँ चालुतर्फ र २६ करोड ५४ लाख ४८ हजार रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।

त्यसैगरी, गल्याङ नगरपालिकाले ८६ करोड ६३ लाख ५० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा ६२ करोड १५ लाख ५० हजार रुपियाँ चालुतर्फ र २४ करोड ४८ लाख रुपियाँ पुँजीगततर्फ छुट्याइएको छ।

चापाकोट नगरपालिकाले ६६ करोड ४८ लाख ७४ हजार ७२ रुपियाँको बजेट सार्वजनिक गरेको छ। यसमध्ये ४१ करोड १३ लाख २७ हजार ४७२ रुपियाँ चालुतर्फ र २२ करोड ३५ लाख ४६ हजार ६०० रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।

त्यस्तै, भीरकोट नगरपालिकाले ५७ करोड ३० लाख ९७ हजार ८८१ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

छ गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट आँधीखोला गाउँपालिका ले ल्याएको छ। गाउँपालिकाले ६१ करोड ६२ लाख रुपियाँको बजेट सार्वजनिक गरेको हो। यसमध्ये १८ करोड ५० लाख रुपियाँ पुँजीगततर्फ र बाँकी रकम चालुतर्फ विनियोजन गरिएको छ।

कालीगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ८१ लाख ८१ हजार रुपियाँको बजेट ल्याएको छ। गाउँपालिकाको बजेटमा ७० प्रतिशत चालु र ३० प्रतिशत पुँजीगत खर्चको व्यवस्था गरिएको छ।

बिरुवा गाउँपालिकाले ५१ करोड ६२ लाख ६८ हजार ३८४ रुपियाँको बजेट सार्वजनिक गरेको छ। यसमध्ये ३६ करोड ७२ लाख २१ हजार ३८४ रुपियाँ चालुतर्फ र १५ करोड ६२ लाख ४७ हजार रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।

त्यस्तै, अर्जुनचौपारी गाउँपालिकाले ४७ करोड ९४ लाख २४ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा ३२ करोड ७० लाख ९० हजार रुपियाँ चालुतर्फ र १५ करोड २३ लाख ३४ हजार रुपियाँ पुँजीगततर्फ छुट्याइएको छ।

हरिनास गाउँपालिकाले ४४ करोड २४ लाख रुपियाँको बजेट ल्याएको छ। यसमध्ये ३० करोड ५२ लाख रुपियाँ चालुतर्फ र १३ करोड ७२ लाख रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।

त्यसैगरी, फेदीखोला गाउँपालिकाले ४० करोड १६ हजार ४०० रुपियाँको बजेट सार्वजनिक गरेको छ। यसमध्ये ३१ करोड ५० लाख १४ हजार ४०० रुपियाँ चालुतर्फ र ८ करोड ५० लाख २ हजार रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको छ। स्थानीय तहहरूले सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्