नेभिगेशन
Tihar Banner
Tihar Banner
Tihar Banner
कृषि

५० प्रतिशत अनुदानमा १ लाख  केजी आलुको बीउ वितरण

स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाले १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो बीउ उपलब्ध गराएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले  कृषकलाई उनीहरूको माग अनुसार जनकदेव र खुमल सेतो जातको आलुको बीउ वितरण गरिएको जानकारी दिए। जसमध्ये ८० हजार ५० किलो जनकदेव र २५ हजार ३५० किलो खुमल सेतो जातको बीउ रहेको छ ।

कृषकलाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विगतदेखि नै अनुदानमा बीउ वितरण गर्दै आएको सुवेदीले बताए । यसपटक वितरण गरिएको बीउ गल्याङ नगरपालिकास्थित भगवती कृषक समूहबाट खरिद गरिएको हो । दुवै जातको बीउ प्रतिकिलो ५९ रुपैयाँका दरले खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कुल ६२ लाख १८ हजार ६०० रुपैयाँ खर्च गरेर बीउ खरिद गरेको हो । उक्त बीउ कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

कृषकलाई अनुदानमा आलुको बीउ हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले उत्पादनमा सक्रिय कृषकलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए । काम गरेर उत्पादन गर्ने कृषकलाई प्रोत्साहन र सहयोग गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्