नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
पर्यटन/विकास

अब भीरकोट पार्कमै पौडीको मज्जा र डुङ्गा सयरको सुविधा

काखैबाट आँधिखोला बगिरहेको छ, त्यहीँ स्वप्न जस्तै एक स्वीमिङ पूल बन्ने क्रममा छ। शान्त मनोरम प्राकृतिक दृश्यवालोकनको मज्जा लिंदै अब स्याङ्जाको भीरकोटमा पर्यटकहरूले पौडीको सदावहार आनन्द पनि लिन पाउने भएका छन् l कल्पना गर्नुहोस् — सूर्यको झुल्कोमा चम्किएको स्वमिङ पूल, वरिपरि हरियाली, रंगीचंगी फूलहरू  र नजिकै सुस्ताएको आँधिखोला । यो केवल मनोरञ्जन मात्र  होइन, भीरकोटको सम्भावनाको एउटा नयाँ पाटो हो। आन्तरिक पर्यटक र  स्थानवासीको रोजाइको  पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटन प्रवर्धन गर्न नगरपालिकाले गरेको  यो प्रयासले भीरकोटलाई जिल्लामै  नयाँ चिनारी दिनेछ, साँच्चिकै रोमाञ्चक भविष्यको संकेत हो यो l

swimming-pool-1753883383.jpg

गण्डकी प्रदेश सरकारको विशेष अनुदान र भीरकोट नगरपालिकाको लगानीमा करिब ५३ लाखको लगानीमा निर्माण भैरहेको स्वीमिङ पूलको ५० प्रतिशत काम पूरा भैसकेको छ l बि  एण्ड बि कन्सट्रक्सनले २०८१ चैत्र २० मा सम्झौता गरी निर्माण गरिरहेको  स्वीमिङ पूल आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको नगरपालिका योजना शाखा प्रमुख याम प्रसाद रेग्मीले जानकारी दिनुभयो l उहाँका अनुसार गण्डकी प्रदेश सरकारको २० लाख विशेष अनुदान र बाँकी नगरपालिकाको लगानीमा स्वीमिङ पूल निर्माण भैरहेको छ  l

निर्माणाधीन पोखरीमा बालबालिका र वयस्कको लागी छुट्टाछुट्टै पौडी खेल्न मिल्ने व्यवस्था हुनेछ l बालबालिकाको लागि ३६ वर्गमिटर र बयस्ककाका लागि १६८ वर्गमिटर क्षेत्रफलमा निर्माण  भैरहेको स्वीमिङ पूलको गहिराइ पनि फरकफरक हुनेछ l जहाँ बालबालिकातर्फको स्वीमिङ पूलको गहिराइ २.५ -३ फिट हुनेछ भने बयस्कतर्फको ४.५ -६ फिट सम्मको हुने भीरकोट नगरपालिका प्राविधिक शाखा प्रमुख इन्जिनियर सरोज पराजुलीले जानकारी दिनुभयो l आकर्षक फाउन्टेन सहितको स्वीमिङ पूलमा लाइफ ज्याकेटको सुविधा र उद्दारका लागि  रेस्क्यु टिम समेत हुनेछ l

1000034047-1753883148.png

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले आन्तरिक पर्यटन प्रवर्धन र नगरपालिकाको आम्दानी वृद्धि गर्ने उद्देश्यले पार्कमा स्वीमिङ पूलको सुविधा थप गर्न लागिएको बताउनुभयो l भीरकोट पार्कलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन पार्क परिसरमा डुङ्गा सयर गर्न र पूजापाठ गर्न समेत मिल्ने  मन्दिर सहितको १२० मिटर लम्बाई र ७० मिटर चौडाइको पोखरी समेत निर्माण भैरहेको उहाँले जानाकारी दिनुभयो l संघीय सरकार र स्थानीय सरकारको सहलगानीमा बनीरहेको यो पोखरीको बिचमा नेपाली परम्परा र मौलिकता झल्कने आकर्षक मन्दिर समेत हुनेछ l मन्दिर निर्माणका लागि नगरपालिकाले गत जेठमा ३७ लाख १८ हजार ५ सय ३१ रुपयाँमा खिलुंगकालिका निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ l २०८२ फागुन मसान्त सम्म पोखरी र मन्दिर दुवै निर्माण सम्पन्न हुने बताइएको छ l

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्