नेभिगेशन
समाचार

बजेट र नीति तथा कार्यक्रमको लागि नागरिकको सुझाव माग्दै भीरकोट

भीरकोट नगरपालिकामा  आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया अगाडि बढेको छ। बजेट र नीति तथा कार्यक्रममा नागरिकका अपेक्षालाई सम्बोधन गर्न नगरपालिकाले  नागरिक, संघसंस्था तथा सरोकारवालाहरूबाट सुझाव मागेको छ। नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगर क्षेत्रमा कार्यरत गैरसरकारी संस्था, सामाजिक संस्था, तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग समन्वय गर्न र आफ्ना वार्षिक योजना तथा कार्यक्रमहरू बजेटमा समावेश गर्नका लागि सार्वजनिक सूचना समेत  प्रकाशित गरेको छ।

नगरपालिकाले नीति, योजना तथा कार्यक्रम तयार गर्न  नागरिकहरूलाई जेठ २२ गतेसम्म र संघस्थालाई जेठ २७ गतेसम्मको समय प्रदान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले  नागरिकको चाहना बमोजिमको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न जनप्रतिनिधिहरूलाई सहज बनाउन नागरिकहरू र संघसंस्थासँग   सुझाव मागिएको स्मार्ट अखबारलाई बताउनुभयो। उहाँले सार्वजनिक सूचना मार्फत स्थानीयस्तरमा सहकार्य गर्दै आएका संघसंस्था, सामाजिक संघसंस्था, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायी, सञ्चारकर्मी, कर्मचारी, शिक्षक तथा आम नागरिकहरूलाई आफ्नो अनुभव र आवश्यकताका आधारमा उपयुक्त सुझाव पठाउन आग्रह गर्नुभएको हो। सुझाव दिन  इच्छुक व्यक्ती वा संस्थाले  नगरपालिकाको   इमेल ठेगाना [email protected] मा आफ्नो सुझाव पठाउन सक्ने जनाइएको छ। 

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले   भीरकोटको विकासका लागि नागरिकको अपेक्षा सम्बोधन गर्न सुझाव मागिएको बताउनुभयो। उहाँले  नगरपालिकाको आगामी नीति तथा कार्यक्रम निर्माणमा नागरिक सहभागितालाई प्रोत्साहिन गरिने भएकाले वडा वा नगरका जनप्रतिनिधिहरूलाई लिखित, मौखिक वा इमेलमार्फत बजेट र नीति तथा कार्यक्रमका विषयमा  सुझाव दिन अनुरोध गर्नुभएको छ। नगरपालिकाको विकास योजनामा नागरिकको सक्रिय सहभागिता बढाउने र योजनाहरूलाई प्रभावकारी बनाउन सुझाव मागिएको नगर प्रमुख  कर्माचार्यले जानकारी दिनुभयो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्