नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्ग डेडीकेटीड डबल लेनमा स्तरोन्नति हुने बताउनुभएको छ। सिद्धार्थ राजमार्ग राष्ट्रिय महत्त्वको राजमार्ग भएकाले अबको बजेटमा प्राथमिकताका साथ अगाडि बढाइने बताउँदै मन्त्री पौडेले स्तरोन्नतिसँगै दुरी पनि घट्ने बताउनुभएको छ। करिब २ घण्टामा बुटवल पोखराको यात्रा सम्भव हुनेगरी स्तरोन्नति गर्न लागिएको उहाँले बताउनुभयो। यसका साथै उहाँले राष्ट्रिय महत्वका अन्य पूर्वाधार विकासलाई पनि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। पौडेलले आँधिखोला हाइड्याम जलविद्युत आयोजना पनि सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। १८० मेघावाट क्षमताको आँधिखोला हाइड्याम एउटा बहुउद्देश्यीय योजनाका रूपमा अगाडि बढाउन सकिने जलाशययुक्त आयोजना भएकाले सरकारको प्राथमिकतामा परेको पौडेलले बताउनुभयो।


स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं ३ को वडा कार्यालय, वैघा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन र वैघा – रिडी सडकको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सिद्धार्थ राजमार्ग स्तरोन्नति र आँधिखोला हाइड्याम जलविद्युत योजना सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो। आगामी आर्थिक वर्षमा स्रोत सुनिश्चित गर्ने गरि सरकारले काम गरिरहेको बताउँदै अर्थमन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यबाट संघीयतालाई थप मजबुत बनाइने बताउनुभयो।
वैघा भञ्ज्याङमा पूर्वाधार समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अराजक प्रवृति र प्रतिगामी शक्तिलाई सदाका लागि तह लगाउने र संघीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सरकार लागि परेको बताउनुभयो। काँग्रेस र एमालेको सहकार्यले देशमा राजनीतिक स्थिरता कायम भएको र पूर्वाधार विकासले गति लिएको उहाँको दाबी छ।

नवनिर्मित वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन
अर्थमन्त्री पौडेलले कालीगण्डकी गाउँपालिकाको आफ्नै स्रोतबाट निर्मित ३ नं वडा कार्यालयको भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन गर्नुभएको छ। यो भवन निर्माण भएसङ्गै लामो समयसम्म भाडाको घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिका अध्यक्ष खिम थापाले बताउनुभयो। वडा नं ३ को कार्यालय सँगै गाउँपालिकाका ७ वटै वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण भएको थापाले बताउनुभयो। कालीगण्डकी गाउँपालिकाको एक करोड ६९ लाख ९१ हजार ८८६ रुपैयाँ २६ पैसाको लागतमा भवन निर्माण सम्पन्न भएको हो । वडा नं. ३ को नवनिर्मित वडा कार्यालय भवनमा एक सभाहलसहित सातवटा कोठा रहेका छन् । सोही भवनमा बालमैत्री र अपाङ्गमैत्री शौचालय समेत निर्माण गरिएको छ ।


संघीय सरकारको विशेष अनुदान अन्तर्गत एक करोड, प्रदेश सरकारको ४० लाख र स्थानीय सरकारको ३४ लाख ५४ हजार ३७३ रुपैयाँ लागतमा निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट करिब २ हजार २ वडाबासी लाभान्वित हुने गाउँपालिकाले जानकारी दिएको छ ।

वैघा – रिडी कालोपत्रे सडकखण्डको उद्घाटन
अर्थमन्त्री पौडेलले वैघा – रिडी अन्तर्गतको १७ किलोमिटर कालोपत्रे सडकखण्डको समेत उद्घाटन गरेका हुन् ।सिएबी /सगरमाथा जेभी, काठमाडौंले २७ करोड ४२ लाख ३६ हजार ८०८ रुपैयाँ २० पैसाको लागतमा निर्माण गरेको पक्की सडकको चौडाई ४.५ मिटर रहेको छ। सडक निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्वमन्त्री पद्मा कुमारी अर्याल, गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, वडा नं. ३ का वडा अध्यक्ष देवेन्द्रकुमार थापालगायतले मन्तव्य राख्नुभएको थियो।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१