स्याङ्जामा विश्व बालश्रम विरुद्धको दिवस मनाइएको छ l सामाजिक विकास कार्यालय, स्याङ्जाको आयोजना र भीरकोट नगरपालिका वडा नं ८ को सहजिकरणमा पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा प्रभातफेरी, अन्तरक्रिया तथा अभिमुखीकरण र विभिन्न रचनात्मक प्रस्तुतिसहित विश्व बालश्रम विरुद्धको दिवस मनाइएको हो l
"प्रगति स्पष्ट छ,तर अझै गर्न बाँकी छ, प्रयासहरूलाई तिब्र बनाऔँ" भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता मार्फत बाल अधिकार र बालश्रमको विषयमा आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए l पब्लिक एकेडेमी मा.वि., सिरूखर्क जोगिस्थान मा.वि. र भाग्योदय माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्लेकार्ड , व्यानर बोकेर बालश्रमका विरूद्ध जनचेतना जगाउदै पन्चेबाजासहित प्रभातफेरी गरेका थिए l

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बाल अधिकार र बालश्रमका विरूद्ध सबै एकजुट हुनुपर्ने बताउनुभयो l सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले देशव्यापी रूपमा सकारात्मक संदेश प्रवाह गर्न बालमैत्री नगरपालिका भीरकोटमा कार्यक्रम गरिएको बताउनुभयो l गीत र कवितामार्फत बालश्रम विरूद्ध आवाज उठाएकोमा खुशी व्यक्त गर्दै पौडेलले बालश्रम विरूद्धको अभियानमा सबै एकजुट भएर निरन्तर लाग्नुपर्ने बताउनुभयो l उहाँले बालश्रम र बाल अधिकारका विषयमा प्रष्ट पार्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो l

कार्यक्रममा कविता, गीत र पन्चेबाजा प्रस्तुत गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कारसहित प्रोत्साहन गरिएको थियो l कार्यक्रममा भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, निवर्तमान नगर प्रमुख छायाराम खनाल, कार्यपालिका सदस्य चित्र बहादुर भुजेल, वडा अध्यक्ष नन्दलाल खनाल,प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरी, जिल्ला बाल संजालका अध्यक्ष सुजाता पौडेल लगायतले बालश्रम र बाला अधिकारका विषयमा आफ्नो धारणा राख्नुभएको थियो l