नेभिगेशन
समाचार

 लापसे गरी सवारीसाधन चलाउने चार चालक पक्राउ

लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने चारजना चालकलाई  स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका वडा नं. १ बसपार्कस्थित सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्‍यादित र भरपर्दो बनाउने उद्देश्यले “ला.प.से. चेकिङ अभियान” अन्तर्गत गरिएको चेकजाँचमा लापसे गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो  ।

टीएचसी (टेट्राहाइड्रोकैनाबिनोल) टेस्ट कीट (युरिन) द्वारा लापसे गरे/नगरेको चेकजाँच गर्दा २४ जना निजी तथा सार्वजनिक सवारीसाधन चालकमध्ये चारजना चालकले लापसे (गाँजा सेवन) गरी सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताउनुभयो।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. -२७ का २५ वर्षीय इभि भ्यान चालक विजय राना मगर, चितवन कालिका नगरपालिका वडा नं. -८ का २३ वर्षीय जिप चालक सुदिप पुलामी मगर, चितवन ईच्छाकामना गाउँपालिका वडा नं. -६ का २२ वर्षीय जिप चालक सन्दिप गुरुङ र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. -७ का २३ वर्षीय इभि चालक संगम थापा रहेको प्रवक्ता चौधरीले बताउनुभयो।

प्रवक्ता चौधरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाइएको बताउनुभयो ।यसअघि पनि पटकपटक प्रहरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई पक्राउ गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्