भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आइतबार भएको १६ औं नगर सभामा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख भगवती रेग्मी अर्यालले बजेट सार्वजनिक गर्नुभएको हो।
नगर प्रमुख कर्माचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रणनीतिक महत्त्वका मुख्य सडकहरू बयरघारी- सुन्दर बजार- मोहनडाँडा- हातेमालोचोक सडक र बयरघारी बिरुवा सडकको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ। सबै वडाका ग्रामीण सडकलाई स्तरोन्नति र सरसफाई गरि बाह्रै महिना सवारी चल्ने बनाउने लक्ष्य राखिएको छ।
नीति तथा कार्यक्रममा आँधिखोला तटबन्धन, कृषि औजार र सिंचाइमा ५० प्रतिशत अनुदान, भीरकोट पार्क, गडहरे गुफा, सुन्दरचौर , स्वरेक मैदान जस्ता पर्यटकीय स्थलको व्यवस्थापन, भीरकोट कृषि विकास परियोजना , विपद् व्यवस्थापन,बालमैत्री स्थानीय शासनको दिगोपना, फोहरमैला व्यवस्थापन, शैक्षिक गुणस्तर वृद्धि , गाई संरक्षण तथा गौशाला व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न जम्मा रु. ८२ करोड २८ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ । उक्त विनियोजित रकम मध्ये चालू तर्फ रु. ६३ करोड ९७ लाख ८६ हजार रुपैयाँ अर्थात ७७.७५ प्रतिशत रहेकोमा संघिय शसर्त अनुदानतर्फ रु. ३२ करोड ५४ लाख रुपैयाँ अर्थात ३९.५५ प्रतिशत र नगरपालिकातर्फको चालू खर्च रु. १६ करोड ४१ लाख ८६ हजार रुपैयाँ अर्थात १९.९५ प्रतिशत छ ।त्यसैगरी कुल विनियोजित रकम मध्ये पुँजिगत तर्फ रु. १८ करोड ३० लाख ६६ हजार रुपैयाँ अर्थात २२.२५. प्रतिशत र सामाजिक सुरक्षा तर्फ रु १८ करोड रुपैयाँ अर्थात २१.८८ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान गरिएको कुल विनियोजित रकम मध्ये चालू आर्थिक वर्षको नगद मौज्दात बाट रु. ३ करोड रुपैयाँ, आन्तरिक राजश्वबाट रु. ६ करोड ३० लाख, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्च बाँडफाँटबाट रु. ९ करोड ४४ लाख ५८ हजार १ सय ८९ रुपैयाँ, संघीय र प्रदेश सरकारको समानिकरण अनुदानबाट ११ करोड ९ लाख ९४ हजार र अन्य स्रोतबाट रु. ९० लाख हुने व्यहोरिने अनुमान गरिएको छ ।
बजेटमा सडक यातायातको विस्तार, स्तरोन्नती र मर्मत सम्भार , विपन्न नागरिक स्वास्थ्य वीमा कार्यक्रम, विभिन्न रोगसँग सम्बन्धित घुम्ती स्वास्थ्य शिविर, खोप कार्यक्रम विस्तार र सुत्केरी महिला पोषण कार्यक्रम तथा महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रम, कृषि तथा पशुपालन व्यवसायमा संलग्न कृषक/कृषक समूहहरुलाई आवश्यक पर्ने मेशिनरी औजार, उन्नत मल, बिज, फलफूलका बेर्ना, उन्नत जातका गाईभैसी तथा बाख्रा वितरण समेतका कार्यक्रमलाई प्रोत्साहन गरी उत्पादन तथा उत्पादकत्व बढाउने बेरोजगार युवा युवतीलाई आधारभूत ज्ञान, सीप तथा क्षमता विकास गरी उद्यमशिल बनाउन विभिन्न स्वरोजगारका कार्यक्रम, धार्मिक तथा पर्यटन क्षेत्रको विकास, विस्तार र स्तरोन्नती गरी आन्तरिक पर्यटक प्रवर्द्धन, शैक्षिक गुणस्तरमा देखिएका समस्याको पहिचान गरी त्यस्ता समस्या क्रमश न्यूनिकरण, महिला, बालबालिका, जनजाति, जेष्ठ नागरिक, दलित, अल्पसंख्यक, फरक क्षमता भएका तथा लोपन्मुख बर्ग समुदायको क्षमता विकास तथा सशक्तिकरणका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ।
आइतबार बसेको नगर सभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ भने बजेट माथिको छ्लफल आगामी असार ३० गतेको नगर सभामा गरिने भीरकोट नगरपालिकाले जानकारी दिएको छ।