नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

अर्जुनचौपारी गाउँपालिकाको पक्षमा उच्च अदालतको  फैसला

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई यहाँका स्थानीय प्रेम बहादुर खत्रीले हालेको मुद्दामा उच्च अदालत पोखराले गाउँपालिकाको पक्षमा पूर्ण फैसला गरेको छ । पालिकाले गरेको कार्य कानुनसम्मत भएको र वैधानिक भएको भन्दै उच्च अदालतले पालिकाको पक्षमा पूर्ण फैसला गरेको हो ।

गाउँपालिकाले संघीय शहरी विकास मन्त्रालयको साझेदारीको वडा नं –१ को पुरनबारी–कौडिखोला–गड्यौलीखोला–अर्जुनचौपारी सडक स्तरउन्नतीको योजनामा काम गरेको थियो ।

गत पुस २५ गते खत्रीले यहाँको वडा – १ मा रहेको आफ्नो जग्गाबाट नयाँ बाटो खोल्न लागेको भन्दै वडा नं – २ का वडा अध्यक्षसहित गाउँपालिकाको कार्यालय, गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आयोजनासम्बन्धी निर्माण कम्पनी र कम्पनीका ठेकेदारलाई अदालतमा मुद्धा दर्ता गर्नुभयो थियो ।

अदालतलाई भ्रममा पार्ने उद्देश्यले १४ बर्ष पहिला बनेको बाटोलाई नयाँ खोल्न लागेको भन्दै उच्च अदालत पोखरामा अन्तरिम आदेशसहितको निषेधाज्ञाको आदेश माग गर्दै उजुरी गर्नुभएको  थियो ।

सो उजुरीमा पहिलोपटक गत माघ २ गते खत्रीको पक्षमा उच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो भने माघ ६ गते न्यायाधीश सुदर्शनराज पाण्डे र मेरिना श्रेष्ठको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेको थियो ।

खत्रीले दिएको उजुरीबमोजिम उहाँको जग्गामा गाउँपालिकाले नयाँ सडक निर्माण गर्न बाटो खन्न लागेको नदेखिएको, सडक साविककै देखिएको र सो सडक स्तरोन्नति योजनालाई नरोक्ने र अन्तरिम आदेशसहितको निषेधाज्ञाको आदेश जारी नगर्ने फैसला गरेको थियो ।

उच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि खत्रीले अन्तरिम आदेश खारेज नगर्न पुनः माघ १८ गते मुद्दा दर्ता गराउनु भएको थियो। यस विषयमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर वागचन्द्रले निर्माण कार्यलाई अगाडि नबढाई यथास्थितिमा राखी कामकारबाही गर्न अन्तरिम आदेश जारी गर्नुभएको थियो ।

त्यसपछि पालिकाले सो अन्तरिम आदेशविरुद्ध दिएको भ्याकेटको निवेदनमा न्यायाधीश दीपेन्द्र अधिकारी र मिलन कुमार राइको संयुक्त इजलासबाट पालिकाले गरेको कार्य कानुनसम्मत भएको र वैधानिक भएको भन्दै यही असार २४ गते पालिकाको पक्षमा पूर्ण फैसला भएको हो ।

पालिकाले उक्त ठाउँमा ठेक्कामार्फत सडकभन्दा पनि सँगै रहेको गड्यौलीखोला सहितको खोलालाई अन्य जग्गालाई प्रभाव नपार्ने गरी ह्युम पाइप हाल्ने र खोलामा नाला बनाउने काम गरेको थियो ।नयाँ बाटो भनिएको उक्त बाटो जिल्ला सदरमुकाम स्याङजाबाट पुतलीखेत लाम्पाटा नुवारभञ्ज्याङ् हुँदै अर्जुनचौपारी गाउँपालिका आउने बाटो हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्