जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आर्थिक वर्ष २०८१/८२मा ११ हजार भन्दा बढिले राहदानी बनाएका छन्। यसैगरी ७ हजार जना भन्दा बढीले नयाँ नागरिकता लिएका छ्न्। पछिल्लो विवरणअनुसार राहदानी लिने नागरिकको संख्या नयाँ नागरिकता लिनेको तुलनामा उल्लेखनीय रुपमा बढी देखिएको छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङ्स्थित इलाका प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी रहेको हो । वैदेशिक रोजगारीको बढ्दो आकर्षणका कारण राहदानी बनाउनेको संख्या वृद्धि भएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा ११ हजार ८ सय ४२ जनाले राहदानी बनाएका छन्। यो वर्ष ७ हजार ८ सय ५५ जनाले नयाँ नागरिकता लिएका छन् । यस अवधिमा १० हजार ८ सय २९ जनाले राहदानी लिइसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल ११ हजार आठ सय ४२ राहदानी सिफारिस गरिएको थियो । सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा(इलाका प्रशासन कार्यालय, वालिङ्समेत)बाट आर्थिक वर्ष २०८१/०८२ मा प्रतिलिपीबाहेक वंशजको आधारमा ७ हजार ८५५ नयाँ नागरिकता, वैवाहिक अंगीकृत १६ र गैरआवसीय नागरिकता २०, प्रतिलिपि नागरिकता ८,४८१ वितरण गरेको छ भने २९ जनाले नागरिकता परित्याग गरेका छन् । कार्यालयले १० नागरिकता र एक नागरिकता प्रतिलिपी रद्द गरेको छ ।
अमेरिकामा ९, बेलायतमा ५, क्यानाडा र हङकङमा ३/३, अस्ट्रेलिया, पोर्चुगल र भारतमा २/२, जापान, फिनल्यान्ड र नर्वेमा एक/एक जनाले उहीँ कै नागरिकता लिई नेपाली नागरिकता त्याग गरेको कार्यालयले जनाएको छ ।
यसैबीच, स्याङ्जा प्रशासनले नागरिकतासंगै परिचयपत्र वितरणमा समेत उल्लेखनीय सेवा प्रदान गरेको छ । कार्यालयले ७२७ नाबालक परिचयपत्र वितरण, २९ हजार २०१ जनाको राष्ट्रिय परिचय विवरण दर्ता, १५ हजार ८४३ जनालाई परिचय पत्र वितरण गरेको छ ।