नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

गल्याङमा ७४ युनिट रगत संकलन

स्याङ्जाको गल्याङमा आयोजित रक्तदान कार्यक्रममा ७४ युनिट रगत संकलन भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी स्याङ्जाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। रक्तदान कार्यक्रममा ७० जना पुरूष र ४ जना महिला गरी कुल ७४ जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल, स्याङ्जाका सचिव राधाकृष्ण शर्माले जानकारी दिनुभयो।

कार्यक्रमको अवसरमा बोल्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटि महासचिव महेश चौलागाईले युवा संघले सामाजिक र रचनात्मक कार्यक्रमहरूलाई प्राथमिकता दिएको बताउनुभयो। कार्यक्रममा युवा संघ केन्द्रिय निर्वाचन आयोग अध्यक्ष मदन गिरी, नेकपा एमाले सल्लाहकार समिति सदस्य चक्र बहादुर पराजुली, केन्द्रिय अनुशासन आयोग अध्यक्ष महेन्द्र थापा, नेकपा एमालेका नेता मोहन रेग्मी, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारस, युवा संघ गण्डकी प्रदेशका अध्यक्ष पिताम्बर खनाल र युवा  संघ ११ वटै पालिकाका अध्यक्षहरुले आआफ्नो धारणा राख्नुभएको थियो । 

 राष्ट्रिय युवा संघ नेपाल, स्याङ्जाका कार्यबहाक अध्यक्ष राजन पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्याङ् नगर कमिटि अध्यक्ष नेत्र रानाले स्वागत एवम् सञ्चालन सचिव राधा कृष्ण शर्माले गर्नुभएको थियो । रक्तदान जीवन दान, जीवन दान महादान भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ स्याङ्जाले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । वि.सं. १९९७ सालमा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भन्नुभएको थियो र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो । वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । नेपाली काँग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो ।

 अध्यक्ष पौडेलद्वारा  ३३औँ पटक रक्तदान 

आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले ३३ औँ पटक रक्तदान गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औ स्मृति दिवसमा राष्ट्रिय युवा संघ स्याङ्जाले गल्याङ नगरपालिकामा बुधबार गरेको रक्तदान कार्यक्रममा पौडेलले जिल्लामै सबै भन्दा धेरै पटक रक्तदान गर्ने मध्यको एक बन्नु भएको छ । 

1000033744-1753273022.jpg
२०५४ मा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रक्तदान गर्नु भएका पौडेलले २०६२ सालबाट बर्षमा एक चोटी र बढीमा तीनपटक सम्म रक्तदान गरेको बताउनुभयो । उहाँले पुष्पलाल स्मृति दिवसमा लगातार १४ पटक रक्तदान गरेको र कम्तीमा ५० पटक पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । आफ्नो ओ पोजेटिम रगत समुह रहेको बताउदै उहाँले कसैलाई रगत आवश्यक परेमा आफूले दिने बताउनुभयो ।

 । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्