स्याङजा जिल्लाको स्थानीय तहहरुले आफ्नो पालिकामा भएको असल अभ्यास आदान प्रदान गरेका छन् ।वालिङ नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड र एशिया फाउण्डेशनकोको सहकार्यमा सिकाइ आदानप्रदान गरिएको हो ।
कार्यक्रममा स्याङजाका विभिन्न पालिकाले आ–आफ्ना तहमा भएका सफल कार्यक्रम, अभ्यास र नीतिहरू प्रस्तुत गर्दै अन्य पालिकालाई पनि अनुकरणीय बन्न सक्ने खालका सन्देशहरू आदान–प्रदान गरेका थिए ।
कार्यक्रममा भीरकोट नगरपालिकाको फोहरमैला व्यवस्थापन जिल्लामै उत्कृष्ट अभ्यासका रूपमा प्रस्तुत गरिएको थियो। भीरकोट नगरपालिकाको वडा नं ४ मा अवस्थित सरसफाई केन्द्रलाई असल र नमुना अभ्यासका रूपमा प्रस्तुत गरिएको थियो।
यसैगरी वालिङ नगरपालिकाको स्वास्थ्य सेवा, ,पुतलीबजार नगरपालिकाको उपमेयरसँग सत्केरी आमा , गल्याङ नगरपालिकाको कृषकसँग कृषि प्राविधिक कार्यक्रम नमुना अभ्यासको रुपमा प्रस्तुत गरिएको थियो । यस्तै अर्जुनचौपारी गाउँपालिकाको आमासमुह मोडेल र हरिनास गाउँपालिकाको पूर्वाधार विकास कार्यक्रमलाई असल अभ्यासको रुपमा प्रस्तुत गरिएको थियो ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्थानीय तहहरुको साझा मुद्धा सहित अन्तरपालिका स्तरीय कार्यक्रम संचालन गर्न पालिका प्रमुखहरुको फोरम तयार गरिने बताउनुभयो ।
सहभागी जनप्रतिनिधिहरूले ‘एक पालिका, एक उत्पादन’ नीतिलाई प्राथमिकतामा राख्दै त्यसअनुसार योजना निर्माण र बजेट विनियोजन गर्नुपर्ने धारणा राखेका थिए
त्यस्तै, प्रदेश सरकारबाट सञ्चालनमा आएका योजनाहरूमा समेत स्थानीय तहलाई अनुगमन र सहभागिता सुनिश्चित गरिनुपर्ने माग जनप्रतिनिधिहरूले राखेका छन् ।
’प्रदेश सरकारको योजना स्थानीय स्तरमा कसरी कार्यान्वयन भइरहेको छ भन्ने हाम्रै पहुँचमा हुनु आवश्यक छ’, वालिङ नगरपालिकाको उपप्रमुख कविता तिवारी(गैरे) भन्नुहुन्छ , ‘योजनाको अन्तिममा सिफारिस लिन आउँदा मात्र हाम्रै पालिकाभित्र भएको कार्यक्रम थहा हुनु समस्याको विषय हो । ’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दुर्गा लामिछानेले स्थानीय स्तरमा योजना वैंकको अवधारणा प्रदेश सरकारले अघि सारेको तर टुक्रे बजेटको प्रभावमा यसको कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष श्री प्रसाद जिटी , उपाध्यक्ष खडग राज सुवेदी ,पुतलीबजार नगरपालिकाका उपमेयर देवि अर्याल ,अर्जुनचौपारी गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ लगायतले यस्ता कार्यक्रम निरन्तर रुपमा संचालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।