नेभिगेशन
समाज

भीरकोट जेसिजद्वारा नवग्रह मन्दिर परिसरमा  वृक्षारोपण

भीरकोट जेसीजले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा अवस्थित नेपालकै पहिलो एवं चर्चित धार्मिक पर्यटकीय स्थल  नवग्रह मन्दिर परिसरमा वृक्षारोपण गरेको छ। नवग्रह मन्दिर र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिको समन्वयमा शनिवार नवग्रह मन्दिर परिसरमा विशेष  वृक्षारोपण गरिएको हो।

नेपालकै पहिलो नवग्रह मन्दिर तथा पञ्चकन्या मन्दिर परिसरमा राशि र नवग्रह वाटिका स्थापना गर्ने उद्देश्यले आज विशेष वृक्षारोपण गरिएको हो।धार्मिक श्रद्धा, पर्यावरणीय चेतना, र सांस्कृतिक पुनर्जागरणको अनुपम संगम बनेको यस कार्यक्रममा १२ राशि र ९ ग्रहसँग सम्बन्धित धार्मिक वृक्षहरू विधिपूर्वक पूजा–विधानसहित रोपिएको हो।

1000033897-1753548524.jpg

पवित्र श्रावण महिनाको अवसर पारेर मन्दिर परिसरमा धार्मिक विरूवाहरू रोपिएको हो। नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री भरत पोखरेलले भन्नुभयो , “हामीले यसअघि नक्षत्र वाटिका निर्माण गरेका थियौँ, अब राशि वाटिका र नवग्रह वाटिकासमेत पूर्ण रूपमा स्थापना भइसकेको छ। हाम्रो उद्देश्य अब यस पवित्र स्थललाई नेपालकै नमुना धार्मिक–प्राकृतिक अध्ययनस्थलको रूपमा विकास गर्नु हो।”

नवग्रह मन्दिर क्षेत्रको विकासमा  सहकार्य गर्न पाएकोमा  यस भीरकोट जेसिज वर्ष २०२५ का अध्यक्ष श्री शिव खनालले खुशी व्यक्त गर्नुभयो।भीरकोट  नगरपालिका वडा नं. ७ का अध्यक्ष  तारा अर्यालले भन्नुभयो“आजको यो कार्यले भावी सन्ततिलाई आध्यात्मिक चेतना, प्रकृतिप्रेम र संस्कारयुक्त जीवन मूल्यको सन्देश दिनेछ। यो केवल आजको रोपाइँ मात्र होइन, पुस्तौंदेखि पुस्तासम्म टिक्ने संस्कारको विरुवा रोपिएको दिन हो।”1000033896-1753548523.jpg

भीरकोट नगरपालिकामा समाजसेवा र नेतृव विकासमा अग्र पङ्तीमा रहेको यस भीरकोट जेसीजले मन्दिर परिसरमा रक्त चन्दन, छत्तिवन, रुख कटहर, पलाश, बर , पिपल, आँक, खयर   लगायतका करिब ३५ वटा धार्मिक बिरुवा रोप्ने काम सम्पन्न गरेको हो। हरेक शनिबार  र पर्व विशेषमा यस मन्दिरमा नवग्रहको पूजा, भजन ,किर्तन साथै गुरु , पण्डितद्वारा  विशेष पूजा आराधना हुँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्