नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

विद्यालय दिवा खाजामा कोदोको परिकार अनिवार्य 

फेदीखोला गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण विद्यालयहरूमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट निर्मित परिकारहरू दिवा खाजामा अनिवार्य गरेको छ ।     प्रथम राष्ट्रिय कोदो दिवस २०८२ साउन १६ गतेबाट विद्यालयमा लागुहुने गरेर कोदोको ढिँडो, मम, तावा रोटी, पुवा,सेलरोटी चिउरा, हलुवा , सूप आदि अनिवार्य रूपमा विद्यालयमा दिवा खाजामा रूपमा खान पर्ने पालिकाले नीतिगत निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिका भित्रका सबै सार्वजनिक निकायहरू वडा कार्यालय, चमेना गृह तथा सभा–सेमिनार स्थलहरूमा कोदोबाट बनेका परिकारहरूलाई प्राथमिकता दिई अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरेको बताउनुभयो । गाउँपालिकाले स्थानीय उत्पादन कोदोलाई बहुपयोगी, पोषणयुक्त तथा आर्थिक रूपमा सम्भावनायुक्त खाद्यान्नको रूपमा प्रवर्धन गर्ने उद्देश्यले प्रथम राष्ट्रिय कोदो दिवस २०८२ मा विविध कार्यक्रमहरू गर्ने तयारी गरेको हो ।

कोदोको पोषण मूल्य, खाद्य सुरक्षा, कृषक आम्दानी तथा स्थानीय अर्थतन्त्रमा यसको योगदानलाई मध्यनजर गर्दै पालिकाले नीतिगत निर्णयहरू समेत गरेको सुवेदीले बताउनुभयो । पालिकाले साउन १६ गते फेदीखोला गाउँपालिका–१, रामकोटमा कोदो रोप्ने र कोदोबाट उत्पादित विभिन्न परिकारहरूको प्रदर्शनी र उपयोग मार्फत यसको बहुउपयोगी पक्ष प्रस्तुत गर्दै समुदायमा चेतना अभिवृद्धिको अभियान सञ्चालन गर्ने सुवेदीले बताउनुभयो । गाउँपालिकाले २०७७ सालदेखि कक्षा ६ को स्थानीय पाठ्यक्रम “हाम्रो फेदीखोला” मा “कोदोः बहुपयोगी खाद्यान्न” शीर्षक समावेश गरी विद्यार्थीहरूलाई यसबारे सचेत गराउँदै आएको थियो । 

कोदाको उपयोगबाट रगतमा क्लोलेस्ट्रोलको मात्रा घट्ने, यसमा फलाम प्रचुर मात्रामा हुने हुदाँ रक्तअल्पता हुनबाट जोगाउने, बालवालिकाको हाड र दाँतको विकासमा सहयोग गर्ने, मिथियोनिन र फल्फरयुक्त एमोन एसिड जस्ता सुन्तलित एमिनो एसिड पाईने र कब्जियत हुन नदिई पेट सफा गराउने भएकाले कोदोलाई बहुउपयोगी एवं बहुगुणी खाध्यन्नको रूपमा लिइन्छ। कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८.७ गुणा बढी क्यालिसियम पाइन्छ। गहुँमा भन्दा १.५ चामलमा भन्दा २.३ र मकैमा भन्दा ३.७ गुणा बढी फलाम पाईन्छ। बालबालिका, गर्भवति महिला, मधुमेह र उच्च रक्तचापको बिरामिलाई फाईदा पुग्ने अनुसन्धानबाट पत्ता लागेको छ।

गाउँपालिकाले स्थानीय उत्पादन कोदोलाई बहुपयोगी, पोषणयुक्त भएकाले कोदोको  परिकारहरूको उपयोग गर्न फेदिखोलाबासी नागरिकहरूलाई विशेष अनुरोध समेत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्