नेभिगेशन
समाज

"गल्याङ जेसीज  'गोल्ड अवार्ड'  द्वारा सम्मानित

गल्याङ जेसिज "गोल्ड अवार्ड"द्वारा सम्मानित भएको छ। गल्याङ क्षेत्रको युवा नेतृत्व, सामाजिक दायित्वप्रतिको प्रतिवद्धता र सामुदायिक सेवामा उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल जेसीजले गल्याङ जेसीजलाई गोल्ड अवार्ड प्रदान गरेको हो। यो पुरस्कार गल्याङ जेसीज वर्ष २०२५ मा गरिएको सामाजिक कार्य, नेतृत्व विकास, सार्वजनिक सहभागिता र नवाचारयुक्त परियोजनाहरूको उत्कृष्ट कार्यान्वयनको आधारमा प्रदान गरिएको हो।

वि.सं. २०७५ (सन् २०१८) मा स्थापना भएको गल्याङ जेसीजले गल्याङ नगर र आसपासका क्षेत्रमा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई संगठित गर्दै `समाजका लागि नेतृत्व’भन्ने मुल नारालाई व्यवहारमा उतार्दै आएको छ।

संस्थाले  सामाजिक समावेशिता, स्थानीय संस्कृति संरक्षण, युवा सशक्तिकरण र विपद् व्यवस्थापन कार्यालाई प्राथमिकतामा राखेर आफ्ना गतिविधी संचालन गरिरहेको छ।  गल्याङ जेसिजले  मुख्यतः श्रमिक सम्मान, माता सम्मान कार्यक्रम, विद्यालयहरूमा शैक्षिक तथा खेलकुद सामग्री वितरण, प्रजातन्त्र, गणतन्त्र तथा सहिद दिवसमा दीप प्रज्वलनसहित विविध कार्यक्रम, स्थानीय धार्मिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धन, आकस्मिक रक्तदान, विपद्का समयमा उद्धारकार्य, सरसफाइ तथा वृक्षारोपण अभियान, जलचर संरक्षण, बालमैत्री अभियान, महिला सशक्तिकरण, युवा क्लबहरूलाई खेलकुद सामग्री वितरण र नेतृत्व विकास तालिमलगायतका क्रियाकलापहरू अत्यन्त प्रभावशाली ढंगले कार्यान्वयन गर्दै आएको छ।

नेपाल जेसीजले देशभरका शाखाहरूको सामाजिक प्रभाव, नेतृत्व क्षमता, अभिलेखिकरण र समग्र सामाजिक योगदानको विश्लेषणका आधारमा गल्याङ जेसीजको योगदानलाई सामाजिक रुपान्तरण र युवा जागरणको प्रेरणादायी उदाहरणका रूपमा चिन्दै, वर्ष २०२५ का अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकको नेतृत्वमा संस्था लाई यो गौरवपूर्ण सम्मान प्रदान गरेको हो।

गल्याङ जेसीजको क्रियाशीलता केवल भौतिक गतिविधिमा सीमित छैन; संस्थाले सामाजिक सञ्जालको भरपुर उपयोग गर्दै पारदर्शिता, उत्तरदायित्व र सहभागितालाई सुदृढ बनाएको छ। फेसबुक, टिकटकलगायतका प्लेटफर्ममा यथार्थपरक रिपोर्टिङ, सामुदायिक सन्देश र जनचेतनामूलक सामग्रीहरू प्रस्तुत गर्दै जेसीज अभियानलाई जनजनसम्म पुर्‍याउन सफल भएको छ।

गोल्ड अवार्डको प्राप्तिले गल्याङ जेसीजको भावी यात्रालाई झनै ऊर्जा, प्रेरणा र जिम्मेवारीको नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। गल्याङ जेसीजले आगामी दिनहरूमा पनि स्थानीय विकास, सामाजिक रुपान्तरण र युवा नेतृत्वको मार्गचित्र निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्