जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राष्ट्रिय परिचयपत्र बनाउनेको भीड कार्यालय समयमा थेग्न नसकेपछि सेवा प्रवाह समय २ घण्टा थप गरेको छ। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि बढेको सेवाग्राहीको भीड व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवा समय विस्तार गरेको हो
अब साउन २८ गतेदेखि सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान ८ बजेदेखि नै सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो। सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार लाभग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र नवीकरण गराइसक्नुपर्ने कानूनी प्रावधान छ । यस वर्षदेखि अनिवार्य राष्ट्रिय परिचयपत्र नम्बरको व्यवस्था लागू भएपछि सेवाग्राहीको संख्या ह्वात्तै बढेको प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयले समय विस्तारले सेवाग्राहीलाई सहज र शीघ्र सेवा लिन मद्दत पुग्ने विश्वास लिएको छ ।
बालबालिका, अशक्त, असहाय, हेरचाह गर्न नसक्ने तथा ९० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि तत्कालका लागि राष्ट्रिय परिचयपत्र नम्बर बिना पनि नवीकरण हुने व्यवस्था भए पनि, परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार यी समूहका व्यक्तिहरू पनि परिचयपत्र बनाउन आउन थालेपछि चाप थपिएको हो ।
केही दिन यता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीडले स्याङ्जा जिल्ला प्रशासन कार्यालय हाल दिनहुँजसो भरिभराउ बनेको छ । सरकारले विभिन्न सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सेवाग्राहीको चाप तीव्र बनेको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा, राष्ट्रिय परिचयपत्र शाखाकी कम्प्युटर अपरेटर ममिता भुसालका अनुसार साउन महिनायता दैनिक तीन सयभन्दा बढी सेवाग्राही आउने गरेका छन्, जसमा करिब ६५ प्रतिशत जेष्ठ नागरिक छन् । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जेष्ठ नागरिकको संख्या उल्लेख्य मात्रामा बढेको उहाँको भनाइ छ ।
चाप व्यवस्थापन गर्न पछिल्लो तीन–चार दिनयता कार्यालय समयपछिसमेत सेवा प्रवाह भइरहेको भुसालले बताउनु भयो। “बेलुका ६:३० देखि ७ बजेसम्म पनि सेवा दिइरहेका छौँ,” उहाँले भन्नुभयो।
तर, भीड भए पनि दैनिक बढीमा एक सय जनासम्मको मात्र विवरण दर्ता हुने गरेको कम्प्युटर अपरेटर भुसालले जानकारी दिनुभयो। उहाँका अनुसार जेष्ठ नागरिकको शारीरिक अवस्था र कहिले राष्ट्रिय परिचयपत्रको प्रणाली डाउन हुने जस्ता कारणले काम ढिलो हुने गरेको छ ।
सामाजिक सुरक्षा भत्ता, बैंक खाता, राहदानी लगायतका कामका लागि सदरमुकाम आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रका लागि दुई-तीन दिनसम्म पर्खिनुपरेको गुनासो गरेका छन् ।
राष्ट्रिय परिचयपत्रकै लागि धेरै सेवाग्राहीले दुईदेखि तीन दिनसम्म लाइनमा बसेर राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएको बताएका छन् । राष्ट्रिय परिचयपत्रका लागि गाउँदेखि सदरमुकाम स्याङ्जासम्म आउनुपर्ने र आवतजावतमा खर्चिलो हुने भएकाले सेवा स्थानीय तहमै उपलब्ध गराउनुपर्नेमा सर्वसाधारणले जोड दिएका छन् ।
यस्तै, जिल्ला प्रशासन कार्यालयका साथै इलाका प्रशासन कार्यालय वालिङमा समेत राष्ट्रिय परिचयपत्र बनाउनेको भीड दिनहुँजसो बढिरहेको शाखाका कम्प्युटर अपरेटर नरेश पौडेलले जानकारी दिनुभयो। उहाँले सेवाग्राहीको चाप व्यवस्थापन गर्नका लागि कार्यालय समयअगाडि र कार्यालय समयपछि पनि सेवा प्रदान गरिएको बताउनुभयो ।
पौडेलका अनुसार कार्यालयमा दैनिकजसो सयौं जना विवरण दर्ता गराउन आउने र रातिसम्म भएपनि काम सकाएर पठाइएको छ ।त्यसैगरी, राष्ट्रिय परिचयपत्रका लागि रजिस्ट्रेसन गरेर नम्बर लिएर जानेको संख्या बढ्दै गएको भए पनि तयार भएको कार्ड लिन आउने सेवाग्राहीको संख्या भने निकै कम रहेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।