अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा गल्याङ जेसीजले गल्याङ क्षेत्रका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका युवाहरुलाई सम्मान गरेको छ। गल्याङ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नामदेव खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई विभिन्न विधामा उत्कृष्टताको आधारमा सम्मान गरिएको हो।
समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता र नेतृत्व क्षमता प्रदर्शन गर्ने, तथा आफ्ना क्षेत्रमा अनुकरणीय उदाहरण बनेका युवाहरुलाई खोजी गरी सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम गल्याङ जेसीजको वार्षिक गतिविधिमध्ये एक महत्त्वपूर्ण आयाम बनेको छ।
कार्यक्रममा उत्कृष्ट युवा शिक्षा, धर्म तथा संस्कृति संरक्षण क्षेत्रमा गुरु दीपक गैह्रे, उत्कृष्ट युवा खेलकुद प्रशिक्षक क्षेत्रमा छविलाल गाहा, उत्कृष्ट युवा नवप्रवर्द्धन उद्यमी क्षेत्रमा कृष्ण पाठक, उत्कृष्ट युवा कृषि उद्यमशीलता क्षेत्रमा प्रदीप पाण्डे, उत्कृष्ट युवा स्वास्थ्य क्षेत्रमा सन्तोष भण्डारी, उत्कृष्ट नवप्रतिभावान युवा (क्रिकेट) क्षेत्रमा सन्दीप खत्री, उत्कृष्ट नवप्रतिभावान युवा (भलिबल) क्षेत्रमा उमेश सेन्चुरी, र उत्कृष्ट युवा पशुपालन क्षेत्रमा तारा प्रसाद भण्डारीलाई सम्मान गरिएको थियो।
सम्मानित युवाहरुलाई सम्मान गर्दै प्रमुख अतिथि खनालले भने“युवाहरु राष्ट्रको मेरुदण्ड हुन्। यिनको प्रतिभा र श्रमलाई उचित दिशा दिन सके मात्र समृद्ध समाज निर्माण सम्भव हुन्छ। गल्याङ जेसीजले सुरु गरेको यो सम्मान परम्परा युवाहरुलाई प्रेरित गर्ने ऐतिहासिक कदम हो।
गल्याङ जेसीजका अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकका अनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको उत्कृष्ट योगदानको कदर गर्नु मात्र नभई उनीहरुलाई अझ प्रोत्साहित गर्दै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्प्रेरित गर्नु हो।
“हामी चाहन्छौं गल्याङका युवाहरु आफ्नो सीप, क्षमता र सोचलाई प्रयोग गरेर कृषि, उद्यम, खेलकुद, शिक्षा, स्वास्थ्य, संस्कृति जस्ता क्षेत्रमा नवीनता र प्रगतिको बाटो देखाउन सकून्,” अध्यक्ष पाठकले भन्नुभयो।
कार्यक्रममार्फत गल्याङ जेसीजले दीर्घकालीन रूपमा युवा सशक्तीकरण, सीप विकास, नेतृत्व प्रशिक्षण र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यसले युवाहरुलाई मात्र होइन, सम्पूर्ण समाजलाई प्रगतिशील सोच र एकताबद्ध भावना तर्फ अघि बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा गल्याङ नगरपालिका, विभिन्न वडाहरुका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा, पूर्व जेसीज पदाधिकारी, स्थानीय शिक्षक, व्यवसायी तथा दर्जनौँ युवाहरुको उल्लेखनीय उपस्थिति थियो।
गल्याङ जेसीजले अन्तर्राष्ट्रिय युवा दिवसलाई अवसरका रूपमा प्रयोग गर्दै प्रतिभावान र मेहनती युवाहरुलाई मञ्च प्रदान गरेको हो। यस वर्षको कार्यक्रम आयोजकको प्रतिबद्धता, सहभागी युवाको जोश र दर्शकको उत्साहका कारण अझ प्रभावकारी बनेको सहभागीहरुले बताएका छन्।