नेभिगेशन
समाचार

जनतासँग निरन्तर जोडिन "क्युआर कोड"

परम्परागत प्रशासनिक अभ्यासलाई तोड्दै स्याङ्जाको हरिनास गाउँपालिकाले प्रविधि प्रयोगमार्फत नागरिकका गुनासा सुन्ने र तत्काल सम्बोधन गर्ने एक उदाहरणीय अभियान थालेको छ । गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरको विशेष पहलमा सुरु भएको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमले अब स्थानीयलाई क्यूआर कोड वा ह्वाट्सएप जस्ता सहज माध्यमबाटै आफ्ना समस्या प्रत्यक्ष जनप्रतिनिधिसम्म पुर्‍याउने बाटो खोलेको छ ।

अध्यक्ष मानन्धरले यो अभियानलाई जनता र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ नजिक र जीवन्त बनाउने नौलो प्रयासको रूपमा रूपमा लिनुभएको छ । “चुनावपछि जनप्रतिनिधिले जनतालाई बिर्सिए भन्ने गुनासो प्रायः सुनिन्छ । तर हामी प्रविधिको सहयोगले जनताको हरेक सानो–ठूलो समस्यासँग निरन्तर जोडिन चाहन्छौँ,” उहाँले भन्नुभयो ।

 

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार हप्तामा ६ दिन नागरिकका गुनासा विभिन्न माध्यमबाट सङ्कलन गरिनेछ । प्राप्त गुनासालाई शनिबार अध्यक्ष मानन्धर आफैँ वा सम्बन्धित शाखाले सम्बोधन गर्ने र जवाफ दिने व्यवस्था मिलाइएको छ । यसका लागि ‘SCAN ME’ लेखिएको क्यूआर कोड सार्वजनिक गरिएको छ भने ९८५६०८७५९५ नम्बरमा ह्वाट्सएप तथा फोनमार्फत पनि गुनासा दर्ता गर्न सकिने व्यवस्था छ ।

यस अभियानले नागरिकलाई कार्यालय धाउनुपर्ने बाध्यता हटाउँदै समय र खर्च दुवै बचत गरेको छ । गाउँपालिकाको कुनाकाप्चामा रहेका बासिन्दाले पनि सजिलै आफ्ना कुरा राख्ने अवसर पाएका छन् । यसले सरकारी काम पारदर्शी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ भने नागरिकको सक्रिय सहभागितालाई प्रोत्साहित गर्नेछ ।

अध्यक्ष मानन्धरको यो अभियानलाई स्थानीयले सकारात्मक र अनुकरणीय कदमका रूपमा लिएका छन् । सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति दिलाउँदै यसले डिजिटल नेपालको अवधारणालाई स्थानीय तहमै साकार पार्ने विश्वास व्यक्त गरिएको छ ।गाउँपालिकाको नेतृत्वमा सुरु भएको यो प्रयासले अन्य स्थानीय तहहरूलाई पनि प्रविधिमैत्री अभ्यासमा जोड्ने प्रेरणा दिने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्