नेभिगेशन
समाज

समुदायको सक्रियता र एकताको उदाहरण : १ करोड ५० लाखमा बन्यो  बहुउद्देश्यीय भवन 

स्याङ्जाको भीरकोट नगरपालिकामा समुदायको सक्रियतामा १ करोड ५० लाखको लागतमा क्षत्री  समाज बहुउद्देश्यीय  भवन निर्माण  गरिएको छ। क्षत्री समाज नेपाल, भीरकोटका अध्यक्ष मीन बहादुर के.सी. को अध्यक्षतामा निर्माण भएको बहुउद्देश्यीय भवनको क्षेत्री समाजका  प्राज्ञिक व्यक्तित्व डा. तेज बहादुर के.सी. ले  समुद्घाट्न गर्नुभएको हो। समुद्घाटन गर्दै डा. के.सी. ले समाजमा  एकता र सद्भाव कायम गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो। क्षत्री समाज नेपाल , भीरकोटले वडा नं १ बयरघारीमा, पुलको मुखमा  निर्माण गरेको यो भवन ८ रोपनी ८ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ। २०८१ भाद्र ३१ गते घटस्थापनाका दिन  शिलान्यास गरिएको भवन आज(सोमबार) भाद्र ६ गते समुद्घाटन गरिएको हो।

1000036958-1758539790.jpg
७ हजार १ सय ६५ बर्गफिट क्षेत्रफलमा निर्माण भएको एकतले भवनमा करिब १ हजार जना क्षमताको सभाहल रहेको छ। भवनभित्र बाथरूम, शौचालय, पोशाक परिवर्तन कक्ष र कार्यालय कक्ष रहेको छ। भवनमा शुद्ध खानेपानी,  भान्सा कक्ष र  हवनकुण्डको सुविधाको समेत रहेको छ। भवन निर्माणका लागि समुदायस्तरबाट १ करोड १० लाख स्वतस्फूर्त रूपमा उठेको समाजका सचिव लेख बहादुर के.सी. (किरण) ले जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माणका लागि भीरकोट नगरपालिकाले १० लाख सहयोग गरेको छ। जग्गा खरिददेखि भवन निर्माणमा हालसम्म १ करोड ५० लाख खर्च भएको हुँदा ३० लाख रूपैयाँ अपुग भएको उहाँले  बताउनुभयो। 

1000036960-1758539791.jpg
क्षत्री समाजको अगुवाइमा निर्माण गरिएको भएपनि उक्त  भवन  समुदायका सबै जातजातिले प्रयोग गर्न पाउने अध्यक्ष मीन बहादुर  के.सी. ले बताउनुभयो। पर्यटन र सामाजिक एकता प्रवर्द्धनका लागि भवन निर्माण गरिएको अध्यक्ष के.सी. ले बताउनुभयो। भवन परिसरमा निकट भविष्यमा  शारीरिक स्फुर्तिका लागि  योगा, जिम, बास्केटबल कोर्टको सुविधा समेत  हुनेछ। भवन उद्घाटन भएसंँगै धार्मिक, सांस्कृतिक , सामाजिक, राजनीतिक कार्यक्रम संचालनका  लागि खुल्ला गरिएको छ।1000036957-1758540055.jpg

३ तलाको संरचना बनाउने गरि योजना बनाइएको भएपनि आर्थिक अभावमा पूरा हुन नसकेको समाजका अध्यक्ष मीन बहादुर के.सी. ले बताउनुभयो। यो भवन वालिङ इन्जिनियरिङ कन्सलटेन्सीको प्राविधिक सहयोगमा कृष्ण निर्माण सेवाले निर्माण गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्