बयरघारीमा यही असोज २३ गतेदेखी कात्तिक २ गतेसम्म चौथो बयरघारी रमाइलो मेला संचालन हुँदैछ। भीरकोट खेलमैदानमा हुन लागेको यो मेलामा १ सय ५० वटा व्यापारिक स्टल रहने रमाइलो मेलाको आयोजक संस्था बयरघारी पिस युथ क्लबले जानकारी दिएको छ।
तर भीरकोट उद्योग वाणिज्य संघले रमाइलो मेलाका नाममा क्लबलाई व्यापारिक स्टल राख्ने अनुमती दिएर स्थानीय सरकारले व्यापारीहरुलाई निरुत्साहित गर्न खोजेको भन्दै नगरपालिकालाई कर नतिर्ने अडान सहित भीरकोट नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। यसैगरी क्लबका अध्यक्ष रोशन गुरूङले क्लबले सरकारी निकायबाट वैधानिक अनुमती लिएर मेला संचालन गर्न लागिएको बताउँदै जुनसुकै अवस्थामा पनि खेलकुद र व्यापारिक स्टलसहितको रमाइलो मेला संचालन गरिने बताउनुभएको छ।
व्यापारीक संघ संस्था बाहेक सामाजिक संघसंस्थालाई व्यापारीक मेला गर्न भीरकोट नगरपालिकाले अनुमति दिएको भन्दै उद्योग वाणिज्य संघले नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितीमा व्यापारीहरूको हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाएको छ।
भीरकोट उद्योगले वाणिज्य संघले लिखित तथा मौखिक अनुरोध गर्दा गर्दै नगरपालिकाले नसुनेको र सिमित राजनैतिक दादागिरीको आडमा स्थानीय क्लबले व्यापारिक स्टल सहितको रमाइलो मेला गर्न लागेको हुँदा वाणिज्य संघले आफू मातहतका व्यापारी, उद्योगी, व्यवसायीहरु एवं भीरकोटबासीहरूलाई नगरपालिकालाई कर नतिर्न निर्देशन दिइएको व्यहोरा सहितको ज्ञापन पत्र बुझाएको उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्यालले जानकारी दिनुभयो।
उद्योग वाणिज्य संघ र क्लब बिचको विवादका विषयमा क्लबका अध्यक्ष रोशन गुरूङलाई सोध्दा उहाँले उद्योगले वाणिज्य संघले व्यापारिको हकहित भन्दा पनि क्लबलाई बदनाम गर्न सुरूवाती चरणबाट नै असहयोग गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, "हामीले नगरपालिकाबाट मेला संचालन अनुमती, जिल्ला प्रशासनबाट सुरक्षाको प्रत्याभूती र कर कार्यालयबाट अस्थाई पान नम्बर लिएर वैधानिक तरिकाले नै मेला संचालन गर्न लागेका हौं ।"
अध्यक्ष गुरूङले स्टल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा क्लबलाई बदनाम गर्न उद्योग वाणिज्य संघ सरकारी निकाय धाएको दाबी गर्दै मेला सफल बनाउन सम्पूर्ण भीरकोटबासीलाई अनुरोध गर्नुभएको छ। उहाँले उद्योग वाणिज्य संघले सिधासाधा व्यापारीलाई खाली कागजमा सहि गर्न लगाएर भीरकोटबासी र स्थानीय सरकारलाई समेत बदनाम गर्न खोजिएको दाबी गर्नुभयो।
किन अनावश्यक विवादमा उत्रिनुभएको भन्ने हाम्रो प्रश्नमा उद्योग वाणिज्य संघका अध्यक्ष अर्यालले स्थानीय सरकारले व्यापारिक हितका लागि स्थापित भएको संस्थाको अनुरोधलाई वेवास्ता गर्दै सिमित समूहको स्वार्थका लागि राजनीतिक आडमा व्यापार गर्ने अनुमती दिएकाले नै विवाद भएको बताउनुभयो। उद्योग वाणिज्य संघले हाल सम्म भीरकोट नगरपालिकालाई रचनात्मक कार्यमा साथ सहयोग दिदै आइरहेको बताउँदै उहाँले नगरपालिकाकाको कारण नै विवादको अवस्था सृजना भएको हुँदा बाध्य भएर यही असोज १८ गतेको बैठक नं.१३ निर्णय नं.१ अनुसार स्थानीय सरकारलाई कर नतिर्ने निर्णय गरिएको बताउनुभयो। उहाँले क्लबलाई समेत व्यापारिक स्टल रहित खेल प्रतियोगिता मात्रै संचालन गर्न पटकपटक अनुरोध गर्दापनि सुनुवाई नभएको बताउनुभयो।
भीरकोट नगरपालिकाले रमाइलो मेला एवम् खेलकुद संचालनका लागि क्लबलाई ३ लाख रूपैयाँ बजेट छुट्याएको छ। यसैगरी यो वर्ष उद्योग वाणिज्य संघलाई महोत्सव संचालनका नगरपालिकाले ५ लाख बजेट छुट्याएको छ । दुबै संस्थाले एकै वर्ष एउटै स्थानमा महोत्सव गर्न खोज्दा विवाद भएको जानकारहरू बताउँछन् ।