नेभिगेशन
समाचार

भीरकोट घोषणा पत्रसहित प्रशासनको ध्यानाकर्षण 

स्याङ्जामा क्रियाशील पत्रकारहरूले प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याललाई  भीरकोट घोषणा पत्र बुझाएका छन्। अकला आवाज साप्ताहिकका प्रधान सम्पादक प्रकाश डुम्रे, खबर कलमका प्रधान सम्पादक जीवन प्रसाद अर्याल र स्मार्ट अखबारका सम्पादक नारायण प्रसाद कोइरालाले प्रमुख जिल्ला अधिकारी अर्याललाई भीरकोट  घोषणा पत्र बुझाउनु भएको हो। गत असोज २५ गते ३ वटा मिडियाको सहकार्यमा  आयोजना गरिएको क्रियाशील पत्रकारहरूको अन्तरक्रियात्मक भेलाले ९ बुँदे भीरकोट घोषणा पत्र जारी गरेको थियो। भीरकोट नगरपालिकामा भएको अन्तरक्रियात्मक भेलामा जिल्लामा क्रियाशील ३० जना पत्रकारहरूको सहभागिता रहेको थियो।

घोषणा पत्रमा जिल्लाको पत्रकारितालाई मर्यादित र गतिशील बनाउने विषयका साथै जिल्लाको समग्र विकास र सुशासनका विषयहरूलाई समेटिएका छन्। घोषणापत्रमा जिल्लामा क्रियाशील पत्रकार र संचारगृहमार्फत लोककल्याणकारी सूचना, विज्ञापन र टेण्डरका सूचना प्रकाशित गर्न जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयहरूलाई प्रमुख जिल्ला अधिकारीमार्फत अनुरोध  गरिएको छ।

1000039835-1761667393.jpg
पत्रकारहरूले   घोषणा पत्रसहित   स्याङ्जा जिल्लाका विभिन्न जनसरोकारका  विषयहरुमा प्रशासन कार्यालयको ध्यानाकर्षण गराउनुभएको थियो। सेवा प्रवाह र नागरिकको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै उहाँहरूले  अवैध रूपमा हुँदै आएका आँधीखोला र कालीगण्डकी नदी दोहन, सरकारी सवारी साधनको दुरूपयोग र विकास निर्माणका बारेमा  प्रशासन र प्रहरीको ध्यानाकर्षण गराउनुभएको हो। नागरिकको सुरक्षाका लागि स्थानीय सरकारहरूले राख्ने गरेका सिसिटिभी क्यामरा र सोलार बत्तीको मर्मत नहुँदा सुरक्षा चुनौती बढेको विषयमा समेत उहाँहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक दधिराम न्यौपानेको ध्यानाकर्षण गराउनुभएको थियो।

प्रमुख जिल्ला अधिकारी अर्यालले घोषणा पत्र बुझ्दै  सभ्य र सुरक्षित समाज निर्माण गर्नु प्रशासन, पत्रकार  र नागरिकको साझा दायित्व भएको बताउँदै  कानुनको पालना  गर्न गराउन प्रशासन र प्रहरी सदैव तयार रहेको बताउनुभएको थियो। उहाँले  पत्रकारहरूलाई समाज र नागरिकको हित हुनेगरी कलम चलाउन र सभ्य समाज निर्माणका लागि निरन्तर खबरदारी गर्न समेत आग्रह गर्नुभएको थियो।

प्रहरी उपरीक्षक दधिराम न्यौपानेले प्राकृतिक स्रोत र नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण र नागरिकको जिउधनको  सुरक्षालाई प्रहरीले प्राथमिकतामा राखेर स्थानीय सरकारहरूसँग समेत सहकार्य  गरेर काम गरिरहेको बताउनुभयो। प्रहरीको सक्रियताका कारण स्थानीय सरकारको राजस्वमा वृद्धि भएको जानकारी दिनुभएको थियो। उहाँले पत्रकारहरूलाई रचनात्मक र सिर्जनात्मक तरिकाले प्रशासन र प्रहरीलाई सहयोग गर्न र सुरक्षित र सभ्य समाजको निर्माणमा सहकार्य गर्न अनुरोध गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्