नेभिगेशन
समाचार

कसले पाउँछन् वैदेशिक रोजगार सन्तती छात्रवृत्ति?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन मागेको छ। बोर्डले यही कात्तिक ३ गते प्रकाशित गरेको सूचना अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको र तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा बिरामी भई शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीले वैदेशिक रोजगार सन्तती छात्रवृत्ति प्राप्त गर्दछन्। यसका  उनीहरूले  आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० अनुसुची (१) बमोजिमको ढाँचामा २०८२ कार्तिक मसान्तभित्र निवेदन पेश गर्नुपर्ने वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।

सन्ततिले छात्रवृत्ति प्राप्त गर्न   संरक्षकको नागरिकताको प्रतिलिपि ,  वैदेशिक रोजगारीमा गई मृत्यु भएका कामदारको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि वा वैदेशिक रोजगारीमा गई सोहि क्रममा अशक्त भएका कामदारको पूर्णरुपमा अशक्त भएको खुल्ने कागजात , कामदारको राहदानी प्रतिलिपि वा राहदानी नम्बर खुल्ने कागजात, विद्यार्थीको जन्म दर्ताको प्रतिलिपि , निवेदक, संरक्षक र कामदार बिचको नाता प्रमाणको प्रतिलिपि ,विद्यार्थी वा संरक्षकको बैंक खाता खुल्ने कागजात (चेकबुकको) प्रतिलिपि, अध्ययन गरिरहेको कक्षा खुल्ने विद्यालयको सिफारिस , वडा कार्यालयको सिफारिस एवं शिक्षा समितिको निर्णय सहित निवेदन दिनुपर्छ।

बोर्डले मागेको कागजात र निवेदन स्थानीय तहमा विद्यालयले  बुझाएपछि  बोर्डको अनलाइन प्रणालीमा इन्ट्री स्थानीय तहले गर्दछ। यसका  लागि सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरह देखि कक्षा १२ सम्म) का १८ वर्ष मुनिका बालवालिकाहरूले मात्र निवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति वार्षिक रूपमा आधारभूत तहमा अध्ययनरतका लागि १२ हजार र माध्यमिक तहका लागि १६  हजार रूपैयाँ प्रदान गरिने  बोर्डले जानकारी दिएको छ। छात्रवृत्ति रकम सीधै बैंक खाता मार्फत उपलब्ध गराइनेछ। एउटा कामदारका जति संख्यामा योग्यता पुगेका सन्तती भए पनि सहायता उपलब्ध हुने बताइएको छ।

वैदेशिक रोजगार पीडितका लागि थप सुविधा

साथै वैदेशिक रोजगारीमा अंगभंग भएका र मृत्यु भएका परिवारका सदस्यलाई वैदेशिक रोजगार  बोर्डले उपचार खर्चवापत् एकपटक ५० हजार रूपैयाँ प्रदान गर्दछ। खासगरी मुटु, मृगौला, क्यान्सर, पार्किन्सन र अल्जाइमर रोग लागेका सदस्यहरूले यो सुविधा पाउँछन्। वैदेशिक रोजगारीका सिलसिलामा बिरामी र अङ्गभङ्ग भएका व्यक्तिले ७ लाख सम्मको आर्थिक सहायता प्राप्त गर्दछन्। रोजगारीका सिलसिलामा मृत्यु भएका परिवारले क्षतिपूर्ति बापत् १० लाखसम्मको क्षतिपूर्ति प्राप्त गर्दछ्न्। यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा अलपत्र परेको वा हराएको हकमा निशुल्क खोजतलास र  मृत्यु भएकाका हकमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्म निशुल्क शव ढुवानीको सेवा समेत प्राप्त गर्दछन्। यी सेवा  सबै सुविधाको लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुपर्ने वैदेशिक रोजगार बोर्डले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्