नेभिगेशन
समाचार

जनतालाई दु:ख दिने कर्मचारीलाई कारबाही हुन्छ : नगर प्रमुख  रेग्मी

पुतलीबजार नगरपालिका नगर प्रमुख तुलसीराम रेग्मीले जनतालाई दु:ख दिने कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ। रेग्मीले  कुनै कर्मचारीले सेवा प्रवाहमा आलटाल गरेर  दुःख दिएमा पालिकामा खबर गर्न अनुरोध गर्दै तत्कालै उहाँले सम्बन्धीत कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको हो ।  पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीका प्रश्नको जवाफ दिदै  उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो।उहाँले पालिकामा सुशासन कायम गर्न र जनचाहना अनुसार अगाडि बढ्न  सबै सचेत नागरिकले   सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नगरप्रमुख रेग्मीले विकास निर्माणका कामहरु, शिक्षा तथा स्वास्थ्यमा, रोजगारी र सेवा प्रवाहमा सुझाव अनुसार सुधार गर्दै लैजाने बताउनुभयो । प्रमुख रेग्मीले नगरको सडकबत्ति सम्बन्धमा टेन्डरको काम सकिएकाले छिट्टै नै व्यवस्थापन गरिने बताउँदै सडकको स्तरोन्नती र बहाकोट स्वास्थ्य चौकी निर्माणको कार्य यसै बर्ष सम्पन्न गर्ने बताउनुभयो। 

सामुदायिक रेडियो स्याङजा एफ एम तथा स्याङजा टेलिभिजनको सहजिकरण तथा व्यवस्थापनमा पालिकाले चौमासिक अवधिमा भएका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, योजनाका विषयमा पुतलीबजार नगरपालिका ८ बहाकोट क्रान्तिचौतारीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले नगरपालिका कार्यालयले गरेका प्रगतीहरु उल्लेख गर्नुभएको थियो । उहाँले पहिले भन्दा विकास निर्माणमा सुधार आएको जानकारी गराउनुभयो । प्रगतिनगर बहाकोटको बाटो डिपीआर अनुसार गुणस्तरीय रुपमा सम्पन्न भएको बताउँदै बर्खामा भत्कीएका स्थानमा छिटै नै मर्मत हुने जानकारी दिनुभयो। 

कार्यक्रममा नेपाली कांग्रेस पुतलीबजार नगरपालिकाका नगर सभापति सुरजकुमार अधिकारी र नेकपा एमालेका प्रतिनिधी राधाकृष्ण शर्माले पुतलीबजार नगरपालिकाकाले  समयानुसार प्रगति गरेको बताउँदै नागरिकको माग र आवश्यकताका आधारमा  सुधार गर्दै जानुपर्नेमा सुझाव र आवश्यकतानुसार राजनीतिक दलको सहयोग हुने विश्वास दिलाउनुभयो।

 कार्यक्रममा स्थानीय गौतम सिंह ठकुरी, प्रेमबहादुर खाणँ, रामचन्द्र पोख्रेल, जवानसिंह गुरुङ, भुवन शाही, रनमाया थापा, जिवन शाही, सुभि थापा, टेककुमारी नेपाली, आइ बहादुर गुरुङ, खुमबहादुर दर्जी, थमकुमारी राना र धीरज ठकुरी लगायतलेसडकको स्तरोन्नती, विद्युत, खानेपानी, कृषिमा अनुदान, कैलाश गुफाको बाटो र प्रवर्धन, योजना निर्माणमा जनसहभागिता लगायतका विषयमा  जिज्ञासा तथा सुझावहरु राख्नुभएको थियो । 

कार्यक्रममा नगरपालिकाका प्रशासन शाखा प्रमुख धनप्रसाद कोइरालाले उद्देश्यमाथी प्रकाश पार्दै पालिकाको सेवा प्रवाह र योजना शाखा प्रमुख डोलराज ढकालले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सामुदायिक रेडियो स्याङजा एफ एम तथा स्याङजा टेलिभिजनको सहजिकरण तथा व्यवस्थापनमा पालिकाले चौमासिक अवधिमा भएका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, योजनाका विषयमा पुतलीबजार नगरपालिका ८ बहाकोट क्रान्तिचौतारीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्