नेभिगेशन
समाचार

भीरकोटको सार्वजनिक सुनुवाई : कृषि, पर्यटन र पूर्वाधारका विषयमा नागरिकको चासो

भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८२ /८३ को प्रथम चौमासिकमा भएका वित्तीय तथा भौतिक प्रगति र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न  गरेको छ। नगरपालिकाको वडा नम्बर ९ ठाउँमा आयोजना गरिएको सार्वजनिक सुनाई कार्यक्रममा नागरिकहरूले सिद्धार्थ राजमार्गदेखि ग्रामीण सडक, कृषि , पर्यटन,  शिक्षा खेलकुद, स्वास्थ्य र  नदीजन्य सामग्री उत्खननको विषयमा समेत आवाज उठाएका थिए।

नेकपा एमालेका नगर सचिव समेत रहेका पर्वत खाम्चा मगरले नगरमा कंक्रिटको विकास बढी भएपनि नैतिक र मानसिक विकास नभएको बताउनुभयो। राजमार्गको अवस्था नाजुक भएको, जमिन बाँझो बन्दै गएको र स्वरेक मैदान लगायतका पर्यटकीय क्षेत्रमा भएका पूर्वाधारहरूको सदुपयोग हुन नसकेको विषयमा उहाँले आवाज उठाउनुभएको थियो।

1000044293-1765818937.jpg
नेपाली कांग्रेसका भीरकोटका नगर सभापति याम प्रसाद अधिकारीले  नगरले सञ्चालन गरिरहेको ग्रीजी स्कृनिङ मेसिन ( नदिजन्य सामाग्री प्रशोधन गर्ने मेसिन ) किन लामो समय बन्द भएको हो भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो। उहाँले वार्षिक बजेट निर्माण गर्दा व्यक्तिका नाम तोकेर बजेट निर्माण गरिएको र योजना बाँडिएको , सार्वजनिक सुनुवाइमा  जनताको सहभागिता घट्दै गएको र प्रश्नकर्ता भन्दा पनि जवाफदेही वक्ता किन बढी भएको भन्ने विषयमा समेत उहाँको जिज्ञासा थियो।

वडा नम्बर ६ का टोल संयोजक दिपक कोइरालाले सडक स्तरोउन्नति गर्दा नागरिकको स्वास्थ्यलाई ख्याल नगरिएकाले बस्ती धुलाम्मे भएको, वडाध्यक्षहरूले आफूखुसी योजना छनोट गर्ने गरेको तथा बजेट विनियोजन भएका योजना सञ्चालनमा समेत वडाले पक्षपात गरेको विषयमा आवाज उठाउनुभएको थियो। सिमलचोर फाँट सिंचाइको विषयमा समेत आवाज उठाउँदै उहाँले यसको दीर्घकालीन समाधान गर्न नगरले चासो दिनुपर्नेमा  जोड दिनुभएको थियो।

1000044292-1765818937.jpg
वडा नम्बर ५ का लोकबहादुर थापाले स्वरेक मैदानमा बनेका पर्यटकीय पूर्वाधारहरूको सदुपयोग हुन नसकेको तथा सरसफाई समेत नभएको विषयमा आवाज उठाउनुभएको थियो। उहाँले लोकप्रिय कार्यक्रमहरु फ्री वाइफाई जस्ता योजना अगाडि सारिएको तर त्यसको सदुपयोग र मर्मत हुन नसकेको विषयमा उहाँले जनप्रतिनिधिहरूलाई प्रश्न गर्नुभएको थियो।

वडा नम्बर ९ को सिरकोट माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले राष्ट्रपति रनिङशिल्डमा विद्यार्थीको स्वास्थ्य र सुरक्षामाथि खेलवाड गरिएको विषयमा आवाज उठाउनुभएको थियो। नगरपालिकाले राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सञ्चालन गर्दा विद्यालयललाई आवश्यक बजेट नदिएको, खेल मैदानको अवस्थामा सुधार नल्याएको, आवश्यक सुरक्षा तथा सावधानी नअपनाएको र कबड्डी हाइजम्प, लङ्गजम्प जस्ता खेलहरूमा असुरक्षित चौर र  बालुवा माथि नै उफारेको विषयमा  आवाज उठाएका थिए।  यस्तै उनीहरुले आफ्नो विद्यालयको खेलमैदान पनि बालमैत्री नभएको विषयमा आवाज उठाएका थिए।

वडा नम्बर ९ का कमलराज रेग्मीले ग्रामीण क्षेत्र विकासमा सधैं पछाडि परेको र बसाईसराई रोक्नलाई स्थानीय सरकारले पहल नगरेको गुनासो गर्दै उहाँले अनुदानमा वितरण गरिने कृषि सामाग्रीको वितरणमा समेत पारदर्शिता नभएको, र योजना किताबमा समावेश गरेका योजनाहरू सञ्चालनमा समेत पारदर्शिता नभएको उहाँको गुनासो थियो।

स्थानीय गिरबहादुर गुरुङ र सोमबहादुर गुरुङले घरगोठ जोखिममा पर्दासमेत नगरले वास्ता नगरेको र वडाले दिएको सिफारिसमा नगरले आवश्यक काम कारबाही नगरेको गुनासो गर्नुभयो।

पिपल डाँडा मा.वि. का शिक्षक समेत रहनुभएका तारापति रेग्मीले गाउँघरमा बनेको गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मी नहुँदा विद्यार्थीले तथा स्थानीयले स्वास्थ्य तथा सेवा तथा सुविधा प्राप्त गर्न कठिन भएको गुनासो गर्नुभयो। यसैगरी शिक्षामा पहुँच वृद्धि गर्न शिक्षाको बजेट बढाएर अतिरिक्त कक्षा सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने बताउनुभयो।

वडा नम्बर ९ का चोकबहादुर गुरुङले सार्वजनिक सुनवाई लगायतका छलफल अन्तरक्रिया कार्यक्रम बजार केन्द्रित हुनुको सट्टा ग्रामीण क्षेत्रमा समेत सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।जनप्रतिनिधिहरूले वडाले वितरण गर्ने सामग्रीहरूमा समेत आफ्ना कार्यकर्तालाई प्राथमिकता दिएको गुनासो गर्दै उहाँले स्थानीय सरकारका गतिविधिहरू पारदर्शी नभएको धारणा राख्नुभयो।

नागरिकले उठाएका गुनासाको विषयमा प्रमुख जवाफदेही वक्ताको रूपमा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जवाफ दिनुभएको थियो। यस्तै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्साल, योजना अधिकृत याम प्रसाद रेग्मी, वडाध्यक्षहरू लक्ष्मण खत्री क्षेत्री, भीमबहादुर गुरुङ र कृष्णबहादुर थापाले नागरिकका गुनासोहरूको जवाफ दिनुभएको थियो। नगर प्रमुख गोविन्दकुमार कर्मचार्यले स्थानीय सरकार नागरिकको इच्छा चाहना बमोजिम नै अगाडि बढ्न खोजिरहेको र कृषि र पूर्वाधार निर्माण लगायतका विषयलाई  प्राथमिकतामा राखिएको बताउनुभयो। विकास निर्माण र अन्य योजनाहरूलाई दिगो र व्यवस्थित बनाउनको लागि नागरिकको चासो , गुनासो र सहभागिता आवश्यक रहेको उहाँको धारणा थियो। नगरपालिकाका सबै आर्थिक गतिविधिहरू पारदर्शी रहेको र एक सुका पनि कहीँ कतै भ्रष्टाचार नभएको उहाँको दाबी थियो। राष्ट्रपति रनिशिल्डका विषयमा उहाँले आगामी वर्षदेखि स्वास्थ्य र सुरक्षाको विषयलाई थप प्राथमिकता राखेर खेलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वालिङको छायाक्षेत्र मिडिया प्रालीको संयोजनमा भएको सार्वजनिक सुनवाई कार्यक्रमको संयोजन पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्