नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

युवालाई स्वरोजगार बनाउन भीरकोटमा बारिष्टा तालिम

स्याङ्जाको भीरकोट नगरपालिका, बयरघारीमा बारिष्टा (कफी बनाउने) सम्बन्धी २१ दिने आधारभूत तालिम सञ्चालन गरिएको छ। २०८२ मंसिर २१ गतेदेखि सुरु भएको उक्त तालिम भीरकोट नगरपालिकाको सिटी हलमा सञ्चालन भइरहेको छ। कार्यक्रममा नगरपालिकाका १ देखि ९ वडाका ५७ जना युवाहरूको सहभागिता रहेको छ।

युवाहरूलाई स्वदेश तथा विदेशमा रोजगारी प्राप्त गर्न वा स्वरोजगार बन्न सहयोग पुगोस् भन्ने हेतुले तालिम सञ्चालन गरिएको कुरा नगर प्रमुख श्री गोविन्द कुमार कर्माचार्यज्यूले बताउनुभयो। सीपमूलक तालिमले स्थानीय युवाहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्ने तथा देश–विदेशमा रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने भएकाले युवा लक्षित तालिमलाई प्राथमिकतामा राखिएको नगर प्रमुख कर्माचार्यज्यूको भनाइ छ।

भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको उक्त तालिममा पुष्पाञ्जली पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.ले प्राविधिक सहकार्य गरेको छ। तालिममार्फत सहभागीहरूलाई कफी बनाउने सीप, मेसिन सञ्चालन, स्वच्छता तथा सेवा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको छ।

सम्बन्धित वडाको सिफारिसमा युवाहरूलाई तालिममा सहभागी गराइएको जानकारी योजना शाखा प्रमुख  याम प्रसाद रेग्मीज्यूले स्मार्ट अखबारलाई दिनुभयो। यद्यपि, स्थानीय युवाहरूले भने नगरपालिकाले तालिम सञ्चालन सम्बन्धी आधिकारिक रूपमा सार्वजनिक सूचना जारी नगरी गोप्य तरिकाले प्रशिक्षार्थी छनोट गरेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्