नेभिगेशन
अर्थ/वाणिज्य

नवौँ वालिङ महोत्सव माघ १४ देखि २५ गतेसम्म हुने

“हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नाराका साथ नवौं वालिङ महोत्सव २०८२ माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । वालिङ नगरपालिका वडा नं. ०८ स्थित वालिङ खेलमैदानमा आयोजना हुने महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढिरहेको आयोजकले जनाएको छ ।


हरेक दुई वर्षमा आयोजना हुँदै आएको वालिङ महोत्सव २०६३ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको हो । यस वर्ष नवौं संस्करणका रूपमा आयोजना हुन लागेको महोत्सवले वालिङ तथा स्याङ्जा जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।


प्राविधिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला–२०८२ को रूपमा आयोजना हुने महोत्सवमा करिब ३५० व्यापारिक स्टल र ६० प्रायोजक संस्थाहरूको सहभागिता रहनेछ । कृषि, हस्तकला, सेवा, औद्योगिक तथा व्यावसायिक क्षेत्रका स्टलहरू महोत्सवको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।


महोत्सवमा ताजा तरकारी, अर्गानिक कफी, अदुवा तथा जडिबुटी, पशुपंक्षी सम्बन्धी उन्नत जात तथा प्रविधि, हस्तकला, सूचना प्रविधि, अटोमोबाइल्स, पर्यटन मेला लगायतका विभिन्न प्रदर्शनीहरू राखिने छन् । साथै बाल उद्यान, शैक्षिक प्रदर्शनी, पुस्तक प्रदर्शनी तथा विद्यार्थीहरूले तयार पारेका नयाँ आविष्कारहरूको प्रदर्शनी पनि गरिनेछ ।
मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत स्ट्याण्डर्ड डान्स आइडल–सिजन ४, मम्मी डान्स प्रतियोगिता, टिकटक प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता लगायतका कार्यक्रमहरू समावेश गरिने छन् । स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त लोक, आधुनिक तथा हास्य कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ ।


वालिङ नगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गर्ने सरकारी लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यसमेत महोत्सवले लिएको छ । साथै स्थानीय उत्पादनको प्रचार–प्रसार, पर्यटन प्रवर्द्धन र लगानी आकर्षण गर्ने लक्ष्य पनि रहेको जनाइएको छ ।महोत्सव स्थलमा जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनी तथा होमस्टे सेवाको जानकारीसमेत उपलब्ध गराइनेछ ।नेपाल उद्योग वाणिज्य महासंघ र वालिङ नगरपालिका महोत्सवका संरक्षक रहेका छन् भने नेपाल पर्यटन बोर्ड प्रवर्द्धकका रूपमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्