नेभिगेशन
समाचार

बिपिसिको जोखिमपूर्ण सेवा प्रवाह  : करेन्ट लागेर एक  जना गम्भीर घाइते

बुटबल पावर कम्पनी लिमिटेडको जोखिमपूर्ण सेवा प्रवाह र चरम लापरबाहीले गर्दा भीरकोटमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन्। वडा नं ६ को चाप्टारीमा रूखको घाँस काट्ने क्रममा रूखमा करेन्ट प्रवाह भै करेन्ट लाग्दा ५६ वर्षीय मनि खनाल गम्भीर घाइते भएको वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले जानकारी दिनुभयो। शनिबार दिउँसो भएको दुर्घटनामा खनालको दाहिने खुट्टामा र अन्य भागमा समेत गम्भीर चोट लागेको छ। भीरकोट नगर अस्पतालमा प्राथमिक उपचार गरि उहाँलाई थप उपचारका लागि पोखरा गण्डकी मेडिकल कलेज लगिएको थियो। खुट्टा आंशिक रूपमा जलेको हुँदा थप उपचारका लागि उहाँलाई किर्तिपुर अस्पताल , काठमाडौं लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

बिपिसीको   स्वामित्वमा रहेको आँधिखोला जलविद्युत केन्द्रले ग्रामीण बस्तीमा ट्रान्समिसन लाइन वरपर रहेका रूखहरू नियमित काँटछाँट नगर्दा सुरक्षा जोखिम उच्च भएको स्थानीयहरूले बताएका छन्। बिपिसीले  जनशक्ति अभाव भएको एवं स्थानियले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन वरपरका रूखहरू काट्ने विषयमा चासो नदिएको स्थानीयहरू बताउँछन्।

दुर्घटना र क्षतिपूर्तिको विषयमा आँधिखोला जलविद्युत केन्द्रका डोल प्रसाद खरेललाई सम्पर्क गर्दा दुर्घटनाको विषयमा जानकार रहेको तर  उपचार खर्च वा क्षतिपूर्ति दिने कानुनी व्यवस्था नै नभएको बताउनुभयो।

स्थानीय सरकारहरूले पनि विद्युतीय जोखिमको विषयमा नागरिकहरूलाई सचेत बनाउने र सेवा प्रदायकसँग समन्वय गरेर जोखिम न्यूनीकरणमा चासो दिएको पाइदैन। अझैपनि नेपाल विद्युत प्राधिकरण र बिपिसीले रूखमा कालोतार टाँगेर विद्युत सेवा प्रदान गरिरहेका छन्। प्रहरीले समेत यो घटनालाई अहिलेसम्म गोप्य नै राखेको छ।

विद्युतीय सुरक्षाबारे नेपालमा अलग्गै कानून नभए पनि विद्युत् नियमावली २०५० मा यसबारे केही मापदण्डहरू दिइएको छ । २३०/४०० भोल्टका लागि सडक वारपार गर्दा – ५.८ मिटर, सडक छेउ - ५.५ मिटर, पैदल यात्रु वा ग्रामीण सडक भएका        स्थानमा – ४.६ मिटर उचाइ कायम गर्नुपर्ने भएपनि उफ्रेरै छुन सकिने ठाउँमा नाङ्गो तारहरू रहेको स्थानीयहरू बताउँछन्।

२३०/४०० भोल्टदेखि ११ केभीसम्मको भोल्टेज लाइनका लागि ट्रान्समिसन लाइनको दाँयाबाँया कम्तिमा पनि  १.२५/१.२५ मिटर खुल्ला राख्नुपर्ने भएपनि सेवा प्रदायकहरूले यसमा चासो नदिएको पाइन्छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्