नेभिगेशन
समाचार

स्याङ्जामा १५ वर्षीया बालिका मृत्यु प्रकरण, फरार प्रतिवादी तिवारी प्रहरी नियन्त्रणमा

स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ की १५ वर्षीया बालिकाको मृत्यु प्रकरणमा संलग्न रही लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। २०८० चैत ११ गते बालिकाको मृत्यु भएपछि परेको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरी टोलीले स्थानीय ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारीलाई शुक्रबार पक्राउ गरेको हो। घटनापश्चात् फरार रही पोखरा महानगरपालिका–१७, बिरौटामा लुकिछिपी बस्दै आएका तिवारीलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरी निरीक्षक सागर कार्कीले दिनुभयो।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि तिवारीलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कुरा प्रहरी निरीक्षक कार्कीले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले यस घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिने बताउँदै घटनासँग सम्बन्धित तथ्य र प्रमाण सङ्कलनको काम तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्