नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

घट्दो जनसंख्या रोक्न कालीगण्डकीमा ‘तेस्रो सन्तान प्रोत्साहन’ कार्यक्रम

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तेस्रो सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरूप मासिक ४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ। गाउँपालिकाले घट्दो जनसंख्या दरलाई वृद्धि गर्न, परिवारलाई सन्तानप्रति सकारात्मक प्रेरणा दिन तथा दीर्घकालीन रूपमा जनसंख्याको सन्तुलन कायम राख्न यो नौलो कार्यक्रम ल्याएको हो।

पोषणमैत्री स्थानीय शासन कार्यान्वयनको उद्देश्य समेत राखेर गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने कार्यविधि नै पारित गरेको छ। पछिल्लो समय गाउँपालिकामा भइरहेको विकास निर्माणलाई समेत सन्तुलन कायम गर्ने गरी ३ वा ३ भन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन स्वरूप मासिक ४ हजारका दरले दुई वर्षसम्म रकम प्रदान गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो।

अध्यक्ष थापाले भन्नुभयो, “जनसंख्या घट्नुको कारण बसाइँसराइ पनि हो, तर पछिल्लो समयमा एकल सन्तान मात्र जन्माउने परिपाटीको विकास भइरहेको छ। यो परिपाटीलाई रोक्न हामीले कार्यविधि नै बनाएर अगाडि बढेका छौँ।” उहाँले बसाइँसराइ रोक्नका लागि पनि पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो।

तथ्याङ्कमा घट्दो जनसंख्या तथ्याङ्क हेर्दा कालीगण्डकीमा जनसंख्या ओरालो लागेको देखिन्छ। २०६८ सालको जनगणना अनुसार यहाँ २१ हजार ७२८ जनसंख्या रहेकोमा २०७८ को जनगणना अनुसार घटेर १८ हजार ८ मा झरेको छ। यही अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रोत्साहन कार्यक्रम ल्याएको हो।

गाउँपालिकाको कार्यविधि अनुसार यो सुविधा लिनका लागि निम्न सर्तहरू पूरा गर्नुपर्नेछ:

  • गाउँपालिकाभित्र स्थायी बसोबास गरेको हुनुपर्नेछ।

  • २०८२ साल साउन महिनाभन्दा पछाडि तेस्रो सन्तान जन्मिएको हुनुपर्नेछ।

  • उक्त सन्तान नेपाल सरकारको सूचीकृत स्वास्थ्य संस्थामा जन्मिएको हुनुपर्नेछ।

सुविधा लिन चाहने परिवारले सम्बन्धित वडा कार्यालयमा निम्न कागजात पेस गर्नुपर्नेछ:

  • निवेदन पत्र।

  • बुवा–आमाको नागरिकताको प्रतिलिपि।

  • तीनवटै सन्तानको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि।

  • बसाइँ सरी आएको हकमा बसाइँसराइको प्रमाणपत्रको प्रतिलिपि।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्