नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

भरुवा बन्दुक र विष्फोटक पदार्थसहित ७२ वर्षीय वृद्ध पक्राउ

स्याङ्जाको बिरुवा गाउँपालिका–६, लेवाबाट अवैध भरुवा बन्दुक र सोसम्बन्धी सामग्रीसहित एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने ७२ वर्षीय रामबहादुर सुनार हुनुहुन्छ।

लेवा स्थित निजको घरमा अवैध रूपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा मर्मत कार्य भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले उहाँलाई पक्राउ गरेको हो। प्रहरीले उहाँको घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा विभिन्न हातहतियार र विष्फोटक पदार्थहरू बरामद गरेको छ।

प्रहरीले बरामद गरेका सामग्रीहरूमा १ थान एकनाले भरुवा बन्दुक, नाल भएको तर पाटपुर्जा जडान नभएको २ थान भरुवा बन्दुक र नाल नभएको १ थान भरुवा बन्दुक रहेका छन्। यसका साथै ४ थान फलामे रड, ६ थान भरुवा बन्दुकको छुच्ची, १४२ ग्राम बारुद, १०७ वटा सिसाको छर्रा र ६ थान केप समेत फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरीले बन्दुक बनाउन वा मर्मत गर्न प्रयोग गरिने १ केजी सोडा, ३ थान फलामे घोडा, २ थान चिम्टी, ४ थान फलामे किला र १ थान फलामे चाप पनि बरामद गरेको छ।

पक्राउ परेका सुनारमाथि हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्