नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

राष्ट्रिय एकता दिवसमा स्याङ्जाका युवा एकजुट, वालिङ र अर्जुनचौपारीमा विविध कार्यक्रम

३०४औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा स्याङ्जाको वालिङ र अर्जुनचौपारीमा विविध कार्यक्रम गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई स्मरण गरिएको छ। विश्व हिन्दु युवा संघ स्याङ्जा र ॐकार इभेन्ट्स हब वालिङको संयुक्त आयोजनामा वालिङ नगरपालिका–८ स्थित वालिङ मोडमा दीप प्रज्वलन तथा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ।

ॐकार इभेन्ट्स हब वालिङका अध्यक्ष विजय मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै सभाध्यक्ष मल्लले हामी सबैलाई जोड्ने काम पृथ्वीनारायण शाहले गर्नुभएको विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "हामी माझ उहाँ सदैव जीवित हुनुहुन्छ र उहाँका दिव्य उपदेशहरू आज पनि उस्तै सान्दर्भिक रहेका छन्।" कार्यक्रममा युवा समाजसेवीहरू आशीष प्रताप खाँण, विजय विक्रम खाँण, अहमद अलि, सागर थापा, नवीन गुरुङ, सागर गुरुङ, कुशल बस्याल लगायतको बाक्लो उपस्थिति रहेको थियो।

राष्ट्रिय एकता दिवसकै सन्दर्भ पारेर विश्व हिन्दु युवा संघ स्याङ्जा र जय सनातन अभियान नेपालको संयुक्त आयोजना तथा पाणिनी आश्रम तथा संस्कृत गुरुकुलम्को व्यवस्थापनमा जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कालिका माध्यमिक विद्यालयकी छात्रा कुशुम रेग्मीले प्रथम स्थान हासिल गर्नुभएको छ। त्यस्तै, साइन भिलेज इन्टरनेसनल एकेडेमीकी छात्रा कृपा गैह्रेले द्वितीय र काजीमान हरिटिका माध्यमिक विद्यालयकी छात्रा ओजस्वी सिग्देलले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ। स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर राना ‘कुमार’ को प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

यसैगरी, दिवसकै अवसरमा अर्जुनचौपारी गाउँपालिका–१ को वडा कार्यालय अगाडि पनि पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको थियो। आधुनिक नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै हरेक वर्ष पुस २७ गते यो दिवस मनाउने गरिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्