नेभिगेशन
समाज

अर्जुनचौपारीमा जबरजस्ती करणीको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा जबरजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–१, माटेथर निवासी ५० वर्षीय सूर्यबहादुर रोका छन्।

३८ वर्षीया महिलामाथि गत २०८२ साल साउन २५ गते दिउँसो करिब १२ बजेको समयमा जबरजस्ती करणी भएको भन्दै पीडित पक्षबाट पुस २६ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी परेको थियो। जाहेरी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले आरोपित रोकालाई पुस २६ गते साँझ करिब ७ बजे सोही वडाबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसन्न राज चौधरीका अनुसार, आरोपितलाई पुस २८ गते स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गर्ने अनुमति प्राप्त भएको र घटनाबारे थप सूक्ष्म अनुसन्धान भइरहेको जानकारी डिएसपी चौधरीले दिनुभयो। घटना भएको करिब ५ महिनापछि जाहेरी परेकाले प्रहरीले यसलाई गम्भीरतापूर्वक लिएर कानुनी प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्