केही मानिसहरूका लागि जन्मदिन सामान्य दिन हो, आउँछ जान्छ। धेरैका लागि जन्मदिन केक काटेर रमाइलो गर्ने दिन हो। कतिपय युवायुवतीका लागि जन्मदिन होटल र पार्टीप्यालेसमा मनोरञ्जनात्मक रूपमा मनाइने उत्सव हो। तर सामाजिक तथा राजनीतिक व्यक्तित्व याम प्रसाद अधिकारी (लक्ष्मण) का लागि भने यो दिनले विशेष अर्थ बोकेको छ। २०३९ साल चैत्र २० गते बुवा कासीराम र आमा तोला मायाको कोखबाट जन्मिनु भएका ४३ वर्षीय लक्ष्मणका लागि जन्मदिन जन्मोत्सव मात्र नभएर सहयोगको उत्सव हो। विगत १५ वर्षदेखि निरन्तर जन्मोत्सव मनाउँदै आएका उनले जन्मदिनलाई सहयोग र मानवताको उत्सवका रूपमा मनाउँदै आउनुभएको छ।
वि.सं. २०६८ सालदेखि उहाँले आफ्नो जन्मदिन फरक तरिकाले मनाउँदै आउनु भएको छ। केक काट्ने, भोज गर्ने वा भड्किलो कार्यक्रम गर्ने सट्टा, उहाँले यो दिनलाई “सहयोग गर्ने दिन” का रूपमा स्थापित गर्नुभएको छ। यो सोच आफैंमा प्रेरणादायी छ—आफ्नो खुसीलाई अरूको जीवनमा उज्यालो बनाउने प्रयास।
उहाँको यो यात्राको आधार हो सानो तर नियमित प्रयास। जनमदिनमा गरिने सहयोगका निम्ति उहाँले हरेक महिना २ हजार १ सय रुपैयाँ बचत गर्नुहुन्छ। यो रकम सानो जस्तो लाग्न सक्छ, तर वर्षभरि जम्मा हुँदा ठूलो सहयोगमा परिणत हुन्छ। यही संकलित रकमले धेरैको जीवनमा आशा थपेको छ।
प्रत्येक वर्ष जम्मा भएको २५ हजार २ सय रकम उहाँले विभिन्न क्षेत्रमा सहयोग गर्न प्रयोग गर्नुहुन्छ। विद्यार्थीहरूलाई शैक्षिक सामग्री, संस्कृत पाठशालाका बटुकहरूलाई आवश्यक सहयोग, विपन्न परिवारलाई राहत, र विपत्मा परेकाहरूलाई सहारा—यी सबै उहाँका सेवाका क्षेत्र हुन्। उहाँको सहयोगले केवल आर्थिक राहत मात्र होइन, आत्मबल र हौसला पनि प्रदान गर्छ। फराकिलो मन भएका उहाँ आवश्यकता अनुसार सेवा र सहयोगको क्षेत्रमा थप रकम पनि खर्च गर्नुहुन्छ।
वालिङ जेसिजका पूर्व अध्यक्ष , फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका संस्थापक अध्यक्ष , लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष अधिकारी नेपाली काँग्रेस भीरकोटका सभापति पनि हुनुहुन्छ। युवा उद्यमी अधिकारी सफल फर्निचर उद्योग एवं सोरूमका मालिकसमेत हुनुहुन्छ। सामाजिक, राजनीतिक र व्यवसायिक पहिचान बनाउनु भएका अधिकारीको यो पहलले एउटा महत्वपूर्ण सन्देश दिन्छ—सहयोग गर्न धनी हुनु आवश्यक छैन, मन ठूलो हुनुपर्छ। सानो–सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।
भीरकोट उद्योग वाणिज्य संघ र भीरकोट जेसिजका मानार्थ सदस्य एवं भीरकोट नगरपालिका वडा नं ५ का पूर्व वडा अध्यक्ष अधिकारीले देखाएको बाटोमा हामी हिड्न सकेमा यो समाजलाई अवश्य लाभ पुग्छ।आजको समाजमा जहाँ जन्मदिनहरू प्रायः देखावटी उत्सवमा सीमित हुन्छन्, त्यहाँ अधिकारीको यो अभ्यास एक उदाहरण बनेको छ। उनले देखाएका छन् कि जन्मदिन केवल आफ्ना लागि होइन, अरूका लागि पनि खुसी बाँड्ने अवसर हुन सक्छ। उहाँ भन्नुहुन्छ, " केक काटेर होइन , दु: ख साटेर र सहयोग बाँडेर जन्मदिन मनाउँदा मलाई खुशी लाग्छ। पूर्वीय परम्परा अनुसार नै मैले हरेक जन्मदिनमा सामाजिक आवश्यकता र मेरो क्षमता अनुसार सहयोग गर्ने गरेको छु।"
२०७२ सालको भूकम्पको समयमा होस् या ७७ सालको कोभिडको समयमा होस्। उहाँले आफ्नो प्रवाह नगरी सामाजिक सेवामा अनवरत खट्दै आउनुभएको छ। जाजरकोट रुकुम भूकम्पमा समेत विशेष सहयोग लिएर भिरकोटदेखि जाजरकोट पुग्नुभएका अधिकारीले कोभिडको समयमा विपदमा हामी अभियान मार्फत भीरकोटका धेरै बासिन्दाहरुलाई स्वास्थ्य सुविधा प्राप्त गर्न सहयोग गर्नुभएको थियो
अधिकारीले आफ्नो ४३ औं जन्मदिनको अवसरमा आँधीखोला गाउँपालिकामा रहेको गुरुकुलमा सहयोग गर्नुभएको छ। वालिङ नगरपालिकामा रहेका एक बिरामीलाई आर्थिक सहयोग समेत सहयोगका साथै भीरकोट नगरपालिका वडा नम्बर ७ मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयमा एउटा स्टिल दराज उपहार दिनुभएको छ।
रोटरी क्लब र ट्रान्सपरेन्सी इन्टरनेशलका आजीवन सदस्य समेत रहेका अधिकारी सामाजिक भावना र दयालु मनका धनी हुनुहुन्छ। हरेक चैत्र १९ मा मनाइने उहाँको जन्मदिन केवल व्यक्तिगत उत्सव होइन, मानवता र सेवाको प्रेरणादायी कथा बनेको छ।