भीरकोट नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ सुशासन दोस्रो सार्वजनिक सुनुवाईमा नागरिकहरूले नगरपालिकाको शैक्षिक गुणस्तर र सुशासनका विषयमा गम्भीर प्रश्न उठाएका छन् । बुधबार भएको कार्यक्रममा नागरिकहरूले विशेषगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर एकदमै कमजोर भएको, क्याम्पसहरू विद्यार्थी संख्याको अभावमा बन्द भएको र शैक्षिक गुणस्तर खस्कदै जाँदा विद्यार्थी वालिङ जाने लहर बढ्दै गएको विषयमा स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराए ।स्थानीय डोलराज ढुंगानाले भन्नुभयो, “दैनिक ८ वटा बसले भीरकोटबाट विद्यार्थी वालिङ लागिरहेका छन् ।भीरकोटका विद्यालयलाई अभिभावकले विश्वाश गर्न सकिरहेका छैनन् । शैक्षिक गुणस्तर वृद्धिमा पालिकाको आधिकारिक धारणा के हो ? किन पालिका यस विषयमा गम्भीर भएको छैन ?”
बालज्योति अंग्रेजी आवासीय मा.वि. का अध्यक्ष भक्तबहादुर के. सी. शिक्षा शाखाले विद्यालयको प्रभावकारी अनुगमन, आवश्यक निर्देशन र कारबाही गर्न नसकेको बताउदै संस्थागत र सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नगरपालिकाले केही गर्न नसकेको गुनासो गर्नुभयो ।उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तर सुधारमा पालिका गम्भीर भएर नलाग्दा नगरपालिकाको अस्तित्व नै संकटमा छ ।अब हामी नगरपालिकाबाट वडामा सिमित हुने खतरा बढ्यो।” उहाँले भीरकोटको तुलनामा वालिङमा हुने परीक्षाहरूमा व्यवस्थापकीय कमजोरी हुने गरेको दाबी गर्दै वालिङमा केन्द्र परेको दहथुम मा. वि. को नतिजा राम्रो देखिनु आश्चर्यजनक नभएको बताउनुभयो। उहाँले सबै विद्यालयको एसईई परीक्षा केन्द्र भीरकोटमा नै राख्नुपर्ने माग राख्नुभयो।
भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्यालले शैक्षिक गुणस्तर र पूर्वाधार विकास नहुँदा बजार विस्तार हुन नसकेको बताउनुभयो ।उहाँले बन्द भएका विद्यालयको भौतिक सम्पत्ति वेवारिसे भएको विषयमा समेत नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो।
स्थानीय तोयानारायण श्रेष्ठले दहथुम बहुमुखी क्याम्पस बन्द हुँदा स्थानीय सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाउनुभयो । क्याम्पस अलपत्र पर्दा करौडौंको सम्पत्ति मात्र नभई पालिकाकाको शैक्षिक भविष्य नै संकटमा परेको उनले बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति याम प्रसाद अधिकारीले नगरपालिकाले बालबालिकालाई भीरकोटका विद्यालयमा पढाउन अभिभावकको विश्वास जित्नेगरी शैक्षिक सुधार र गुणस्तर वृद्धि गर्न पालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
भू.पु. सैनिक कम्युनिटी एकेडेमीकी छात्रा खुशी खत्रीले समेत भीरकोटका विद्यालयमा विद्यार्थी संख्या घटेको प्रति गम्भीर चासो व्यक्त गर्नुभयो ।उहाँले विद्यार्थी संख्याको अभावमा विद्यार्थी भन्दा विद्यालयको संख्या बढी भएको व्यंग्यात्मक टिप्पणी गर्नुभयो ।
नागरिकहरूले उठाएको शैक्षिक गुणस्तरको मुद्दामा नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्साल र शिक्षा शाखा प्रमुख खड्ग बहादुर रानाले जवाफ दिनुभएको थियो। उहाँहरूले नागरिकले उठाएका विषय जायज भएको र आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
स्थानीय खेलाडी अमृत थापाले नगरपालिकाले राजनीतिक आस्थाकै आधारमा क्लबहरूलाई दिइने सहयोग रकम घटीबढी हुने गरेको गुनासो गर्नुभयो । उहाँले पालिकाले विनियोजन गरेको बजेट र कार्यक्रम पारदर्शी ढंगले कार्यान्वयन नगरेको आरोप लगाउनुभयो ।
नेकपा (एमाले)का नगर अध्यक्ष हर्क गुरुङले लोकतान्त्रिक पार्टीले नेतृत्व गरेको सरकारले लोकतान्त्रिक आचारण, सुशासन, पारदर्शीता र विधिको शासनलाई प्राथमिकता नदिएको र हरेक काममा नातावाद र कृपावाद देखिएको बताउनुभयो । उहाँले पालिका भित्र सिद्धार्थ राजमार्ग आसपासका अव्यवस्थित बसोबासीलाई हटाउन नगरपालिका तयार छ कि छैन भन्ने विषयमा समेत प्रश्न गरेका थिए ।
भक्तबहादुर के.सी. ले स्थानीय सरकारले कृषि सामग्री, मौरीका घार खरिदमा कमिसनमा काम गर्ने गरेको र फर्जीबिल पेश गरेर भुक्तानी लिने गरिएको गम्भीर आरोप लगाउनुभयो ।
स्थानीय क्षेत्रबहादुर थापाले सार्वजनिक जग्गा र खेलमैदानको संरक्षणमा पालिका उदासिन भएको बताउनुभयो । उहाँले दहथुम खेलमैदानमा अर्जुनचौपारी कन्सट्रक्सनलाई निर्माण सामाग्री राख्न दिएकोमा उनले गम्भीर आपत्ति जनाउनुभयो ।
नागरिकहरूले उठाएको प्रश्नहरूलाई सम्बोधन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरपालिका जनताको चासो र गुनासोप्रती गम्भीर रहेको र नगरपालिकालाई सफल हरेक जिम्मेवार नागरिकले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जनताले अपेक्षा गरेको शैक्षिक सुधार, सुशासन, पारदर्शीता र लोकतान्त्रिक विधि पद्धतिलाई प्राथमिकतामा राखेको र आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा जनताले अनुभूति गर्ने गरी स्थानीय सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।